थप समाचार मंगलबार, चैत ११, २०७६

मजदुर नेता भन्छन्– दैनिक ज्यालादारीलाई राहत देउ

हिमालखबर

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि मंगलबारबाट एक सातासम्म बन्दाबन्दी घोषणा गरेपछि काम छाडेर बसेका दैनिक ज्यालादारी मजदुरलाई राहत दिन विभिन्न ट्रेड युनियनहरुले माग गरेका छन् ।

दैनिक ज्यालादारी गर्नेहरुको जीवनयापनमा समस्या भए पनि सरकारले गरेको बन्दाबन्दीलाई साथ दिन सबैलाई अनुरोध गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “यो हाम्रो स्वास्थ्यसँग जोडिएको निर्णय भएकोले एक छाक मात्रै खाएर पनि सहयोग गर्नुपर्छ र गरिरहेका छौं ।”

तर, एक छाक खानका लागि पनि सरकारले राहत दिनुपर्ने उनको भनाइ छ । एक हप्तापछिको परिस्थिति हेरेर रासन, घरभाडा जस्ता विषयमा सरकारले निर्णय लिनुपर्ने उनी बताउँछन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पूर्व अध्यक्ष खिला दाहाल सरकारले देशवासीको स्वास्थ्यको लागि गरेको निर्णय भएकोले सबै मजदुरले साथ दिएको बताउँछन् । उनी भन्छन्, “यो भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । त्यसैले दैनिकी ज्यालादारी मजदुरले सरकारलाई साथ दिएका छन् ।”

एक सातासम्म काममा नजाँदा दैनिक जीवनयापन नै कठीन हुने भएकाले ज्यालादारी मजदुरलाई राहत प्याकेज दिनुपर्ने उनी बताउँछन् । एक साताभन्दा बढी बन्दाबन्दी भए विपन्न वर्गलाई आर्थिक प्याकेज र रासन उपलब्ध नगराइ नहुने उनको भनाइ छ ।

उता खालीसिसीडटकमकी संस्थापक तथा अध्यक्ष आयुशी केसीले सरकारको निर्णयलाई आफू सम्बद्ध सबै मजदुरले साथ दिइरहेको बताइन् । उपत्यकामा खालीसिसीसँग आबद्घ ३०० भन्दा बढी मजदुरलाई बन्दाबन्दीको महत्व तथा सरसफाईबारे बुझाएर घरबाट ननिस्कन अनुरोध गरेको उनले बताईन् ।

उनीहरुले नकुहिने समान संकलन गर्ने भएकोले खालीसिसीलाई सहज भएको केसी बताउँछिन् । बन्दाबन्दी नहटेसम्म समान संकलन नगर्ने खालीसिसीले आफ्ना सेवाग्राहीलाई जानकारी गराएको छ । खालीसिसीका मजदुरले अन्य ज्यालादारीभन्दा बढी कमाउने भएकाले एक हप्ता काम नहुँदा पनि समस्या नहुने उनी बताउँछिन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि मंगलबार बिहान ट्विट गर्दै दैनिक ज्याला मजदुरी गर्नेलाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका थिए ।

प्रतिकृया दिनुहोस