समाचार मंगलबार, चैत ११, २०७६

नेकपाका संघीय सांसदले ‘कोरोनाविरुद्धको कोष’ मा १५ दिनको पारिश्रमिक दिने

हिमालखबर

संघीय संसद अन्तर्गतका नेकपाका सबै सांसदहरुको १५ दिनको पारिश्रमिक संघीय सरकारले स्थापना गरेको 'कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' मा जम्मा गर्ने भएका छन् ।

संसदीय दलका उपनेता, मुख्य सचेतक, सचेतकलगायत केही सांसदले टेलिफोनमा छलफल गरेर निर्णय गरेको सांसद विन्दा पाण्डेले जानकारी दिइन् ।

उनले भनिन्, “भेटेर बैठक गर्ने अवस्था नभएको र चाँडै निर्णय गर्नुपर्ने भएकाले टेलिफोन छलफलबाटै सबै सांसदहरुले न्यूनतम १५ दिनको पारिश्रमिक दिने निर्णय भएको हो । कसैले बढी दिन चाहे दिन सकिनेछ ।” पाण्डेका अनुसार प्रमुख सचेतकले अरु दलसँग पनि कोषमा रकम जम्मा गर्नेबारे छलफल र समन्वय गर्ने भएका छन् ।

संघीय सांसदको एक जनाको मासिक पारिश्रमिक रु.५५ हजार २३० हुन्छ। नेकपाका प्रत्येक सांसदले १५ दिनको रु.२७ हजार ६१५ दिने भएका हुन्।

रकम कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा जम्मा गरिनेछ ।

प्रतिकृया दिनुहोस