थप समाचार मंगलबार, चैत ११, २०७६

बेलायत पनि 'लक डाउन', हिँडडुलमा दोस्रो विश्वयुद्धपछिको कडा प्रतिबन्ध

हिमालखबर

बेलायत पनि 'लक डाउन', हिँडडुलमा दोस्रो विश्वयुद्धपछिको कडा प्रतिबन्ध

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देश ‘लक डाउन’ मा गएको घोषणा गरेका छन्। उनले सोमबार साँझ टेलिभिजनमार्फत सम्बोधन गर्दै ‘लक डाउन’ घोषणा गरेका हुन्।

हिँडडुलमा लगाइएको यो प्रतिबन्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कडा भएको सीएनएनले जनाएको छ। अब बेलायतका पसल, जिमखाना, सार्वजनिक स्थल बन्द रहनेछन्। वैवाहिक कार्यक्रम पनि पछाडि सार्नुपर्ने तर, अन्तिम संस्कारमा रोक नलगाइने सीएनएनले उल्लेख गरेको छ।

सरकारले अत्यावश्यक सामग्री किन्न, शारीरिक कसरतका लागि, औषधि उपचारका लागि र अति आवश्यक कामका लागि मात्र घरबाहिर जान दिने निर्णय गरेको छ।

देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भनेका छन्, “म यो साँझबाट बेलायती जनतालाई धेरै साधारण निर्देशन दिँदैछु कि अनिवार्य घर बसिदिनुस् किनकि हामीले घर–घरमा हुने रोगको संक्रमण रोक्नैपर्छ।”

यसअघि युरोपका इटाली, स्पेन, बेल्जियम, स्वीट्जरल्याण्ड लगायत देशले लक डाउन गरिसकेका छन्। युरोपियन युनियनका २७ देशले एक–अर्को देशमा आवातजावत गर्न पूर्ण प्रतिबन्ध लगाउँदै ३० दिनका लागि विमानस्थल र सीमा बन्द गरिसकेका छन्।

 

 

प्रतिकृया दिनुहोस