समाचार मंगलबार, चैत ११, २०७६

सरकारलाई विश्वप्रकाशका सुझावः दैनिक ज्यालादारी गर्नेलाई राहत देउ

हिमालखबर

सरकारलाई विश्वप्रकाशका सुझावः दैनिक ज्यालादारी गर्नेलाई राहत देउ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘लकडाउन’ मा दैनिक ज्यालादारी मजदुरका लागि यथाशीघ्र राहत प्याकेज बनाएर कार्यान्वयन गर्न सुझाव दिएका छन्।

उनले ट्विटरमार्फत सरकारलाई दिएको सात सुझावको पहिलो नम्बरमा लेखेका छन्, “लकडाउनको अवधि सात दिनबाट लम्बिन पनि सक्छ, त्यस्तो स्थितिमा दिनभरि काम गरेर माम जुटाउने वर्गको चुल्हो पूरै ‘लक’ गर्न सक्छ। अतः सरकारले यथाशीघ्र राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्नु दूरदर्शी हुनेछ।”

शर्माले खाद्यान्न अभाव र असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले तीनै तहको सरकारबीच समन्वय गरेर नागरिकलाई आश्वस्त बनाउन बनाउन पनि आग्रह गरेका छन्।

त्यस्तै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने जो कसैलाई पनि कोरोना सम्बन्धि निस्चित लक्षण देखिए सम्पर्क गर्ने ठाउँ, अस्पताल पुग्ने तरिका र उपचार प्रक्रियाबारे नागरिकको अन्यौल हटाउन पनि सुझाव दिएका छन्।

लकडाउनअघि पनि आन्तरिक संवादमा सुझाव दिइसकेको भन्दै शर्माले सरकारलाई सघाउने र घच्घचाउने दायित्व सबैको भएको बताएका छन्।

शर्माले यसलाई ‘तेस्रो विश्वयुद्ध’ भन्दै संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लड्नुपरेको उल्लेख गरेका छन्। स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न, पर्याप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रबन्ध गर्न र प्रयोगशाला कम्तीमा सातै प्रदेशमै परीक्षणको सहज व्यवस्था गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन्।

त्यस्तै सहि सूचना र तथ्य सम्प्रेषणका लागि एक द्वार प्रणाली तत्काल निश्चित गर्न, व्यवसायीको बैंकिङ ब्याज घटाउन र किस्ता तिर्ने समयावधि लम्ब्याउनका लागि समन्वय गर्न, प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न पनि सरकारलाई शर्माले सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस