समाचार सोमबार, चैत १०, २०७६

कोरोनाभाइरस रोकथाममा सेनाको तयारी : चिकित्सकदेखि इक्युप्मेन्ट उत्पादनसम्म

हिमालखबर

कोरोनाभाइरस रोकथाममा सेनाको तयारी : चिकित्सकदेखि इक्युप्मेन्ट उत्पादनसम्म

हाल विश्वभर फैलिदै गएको कोरोनाभाइरस (कोभिड-१९) को उच्‍च जोखिमलाई मध्यनजर गरि नेपाली सेनाले आन्तरिक रुपमा रोकथाम तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको जनाएको छ ।

नेपाली सेनाले कोरोनाभाइरस सम्बन्धी कुनै केस आएमा सेनाका डाक्टर सहितको रथीवृन्द तथा अधिकृतहरु सहितको कोर टीम गठन गरि सम्पूर्ण युनिटहरु तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाईएको जनाएको छ ।

कोरोनाभाइरस सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरि क्वारेन्टाइन क्याम्प सेटअप गर्न तथा भाइरसविरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिईएको जानकारी सेनाले दिएको छ । साथै उक्त  प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई सचेतनामूलक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा क्वारेन्टाइन क्याम्प सेट अप गर्ने कार्य शुरु गरेको सेनाले जानकारी दिएको छ ।

हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गरेको र नेपाल सरकारले सिमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरिएको बताएको छ ।

सेनाले विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ । 

नेपाली सेनाले परिचालित कर्मचारीका लागि आवश्यक पीपीई, मास्क, पञ्जा तथा सेनिटाईजर उपलब्ध गराउनका  साथै उत्पादन समेत शुरु गरिसकेको जनाएको छ ।

कोरोनाभाइरस सम्बन्धि नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पि.टि. परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाएको छ ।

नेपाली सेनाले कर्मचारीलाई कोरोनाभाइरस बारे जानकारी गराई विशेष परिस्थिती र आवश्यकताको आधारमा मात्र  बिदा छुट्टी मिलाउने बताएको छ ।

साथै बिदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर मात्रै एकिन भएपछि मात्रै डिउटीमा लिने व्यवस्था मिलाएको जनाएको छ ।

नेपाली सेनाको व्यारेक हाताभित्रका वासस्थानहरुमा समेत खाटहरुको दुरी घटीमा एक मिटरको राख्ने र सबैलाई व्यारेक हाताभित्र नै लक डाउन गरिएको जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न नेपाली सेना तयार रहेको जानकारी विज्ञप्तिमार्फत गराएको छ ।

प्रतिकृया दिनुहोस