समाचार सोमबार, चैत १०, २०७६

हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार पक्राउ

हिमालखबर

हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार पक्राउ

महानगरीय प्रहरी कार्यालय मातहत रहेका प्रहरी र पत्रकारसहित ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई हिरा जस्तो देखिने पत्थर लुटपाट गरेको अभियोगमा थाहा नगरपालिका थाना बजारबाट आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने पत्रकार १९ वर्षीय सुजन आचार्यसहित दरबारमार्ग वृत्तमा कार्यरत २६ वर्षीय असई सुरेन्द्रबहादुर बसेल, दरबारमार्गमै कार्यरत प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगरलाई पक्राउ गरेको हो ।

उनीहरु डिउटी सकिएपछि साथमा रहेका सरकारी हतियार र उपकरण सहित लुटपाटका लागि मकवानपुर पुगेका थिए ।

मकवानपुर प्रहरी प्रमुख एसपी शुसिलसिंह राठौरले पक्राउ परेका चारैजना बिरुद्ध डाँका मुद्दामा म्याद थप भएको जानकारी हिमालखबरलाई दिए ।

यो समूहले कैलाश गाउँपालिका–५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा लुटपाट भएको हो ।

उनीहरुले पत्थर खरिद गर्ने बाहानामा मोलतोलपछि बृद्ध महिलालाई पेस्तोल देखाएर लुटपाट गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयपालुङबाट खटिएको प्रहरीले प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कारमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १२ दशमलव २६० ग्रामको पत्थर १ थान, चाईनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, मेटल डिटेक्टर २ थान, ह्‍याण्ड सेट ४ थान, ल्यापटप १ थान, क्यामेरा १ थान र मोबाइल ७ थान समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस