समाचार सोमबार, चैत १०, २०७६

विजुलीको बिल अनलाइनबाट, कर्मचारी आइसोलेसनमा

हिमालखबर

विजुलीको बिल अनलाइनबाट, कर्मचारी आइसोलेसनमा
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकमा सहभागिहरू ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम न्युनिकरण गर्न नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न अपिल गरेको छ ।


महसुल काउण्टरमा हुने भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था प्राधिकरणले मिलाएको छ ।

कुनै ग्राहकले इन्टरनेटको सहज आपूर्ति अभावमा समयमा नै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना प्राधिकरणले नलिने भएको छ । अनलाइनबाट भुक्तानी गर्न नसक्ने ग्राहकको लाइन समेत नकाटिने ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताए ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘महसुल काउण्टरहरूमा भिडभाड हुने भएकाले कोभिड–१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आम ग्राहकमा अपिल गर्दछु’, मन्त्री पुनले भने ।

इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना पनि नलिइने मन्त्री पुनले बताएका छन् ।


विद्युतका कर्मचारी आइसोलेसनमा
विद्युत् प्राधिकरणले कर्मचारीलाई बिदा नदिने निर्णय गरेको छ । बिहान र बेलुका अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखहरुलाई निर्देशन जारी गरिएको छ ।

सरकारले विद्युतलाई अत्यावश्यक सेवामा राखेकाले कर्मचारीलाई बिदा नदिने निर्णय गरिएको मन्त्री पुनले बताए । प्राधिकरणका अति संवेदनशील मानिने नो लाइट र भार सम्प्रेषण केन्द्र (एलडिसी) का कर्मचारीलाई संक्रमणको जोखिम कायम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने भएको छ ।

एलडिसी काममा सीमित कर्मचारी मात्र भएकाले उनीहरूलाई संक्रमण भए सेवा नै अवरुद्ध हुने भएकोले पनि कोरोनाको संक्रमणबाट सुरक्षित राख्नुपर्ने मन्त्री पुलने बताए । ‘नो लाइट र एलडिसीमा सीमित प्राविधिकका भरमा काम गर्नुपर्ने अवस्था छ ।

ती कर्मचारी कार्यालय आउजाउ गर्दा संक्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्ने भएकाले कार्यालयमै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले बताएको छ ।

चिया बन्द
ऊर्जा मन्त्रालयले मातहतका सबै कार्यालयमा चिया बन्द गर्न आग्रह गरेको छ । चिया पिउँदा संक्रमणको जोखिम बढी हुने भएकाले तत्कालका लागि चिया कफी बन्द गर्न मन्त्री पुनले निर्देशन दिए । चियाको साटो नियमित रूपमा तातोपानी पिउन मन्त्रीले आग्रह गरे । ‘चिया पिउँदा संक्रमण हुन सक्छ त्यसैले चिया छोडौ, तातोपानी पिऔं’ मन्त्रीले भने ।

 

 

 

 

 

 

 

 

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले

प्रतिकृया दिनुहोस