समाचार सोमबार, चैत १०, २०७६

होटलका अत्यावश्यक बाहेकका सबै कर्मचारी विदामा

हिमालखबर

होटलका अत्यावश्यक बाहेकका सबै कर्मचारी विदामा

कोरोनाभाइरसको त्रासले पर्यटक नआएपछि होटलका कर्मचारीलाई विदा दिइएको छ । होटल संघ नेपाल (हान) ले आइतबार अति आवश्यक सेवामा कार्यरत कर्मचारीलाई सुरक्षा संवेदनशीलता अपनाएर काममा लगाउने र अन्य कर्मचारीलाई विदा दिने निर्णय गरेको छ ।

हान र विभिन्न तीन वटा कर्मचारी युनियनका अध्यक्षसहितको उपस्थितिमा भएको उक्त निर्णयसँगै सबै पर्यटकस्तरका होटलका कर्मचारी विदामा बसेका छन् ।

हरेक १५ दिनमा होटल संघ र सम्बन्धित ट्रेड युनियनका पदाधिकारीको बीचमा समीक्षा बैठक बस्ने गरी विदामा पठाउने निर्णय भएको हानले जानकारी दिएको छ । होटलका कर्मचारीले पाउने संचित विदा तथा विदा नभएमा अग्रिम विदामार्फत समायोजन गराउने निर्णय गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

कोरोनो भाइरसको प्रकोप नियन्त्रणमा नआउदासम्म कर्मचारीलाई लिभ ट्राभल अलाउन्स (एटीए) उपलब्ध नगराउने निर्णय पनि हानले गरेको छ । कोरोनाको प्रभावका कारण होटल तथा पर्यटन क्षेत्रमा पुगेको क्षति तथा आवश्यक सुविधाका लागि सरकारसँग माग गर्ने विषयमा होटल संघ र ट्रेड युनियनले संयुक्त प्रयास गर्ने सहमति भएको छ ।

हानले कर्मचारीलाई एक महिनासम्म लागू हुने गरी विदा दिएको हो । अनुकुल परिस्थित भए समीक्षा बैठकबाट नयाँ निर्णय लिन सक्ने हानले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस