हेटौंडामा १६ फागुनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी
मकवानपुर उद्योग वाणिज्य सङ्घले १६ देखि २५ फागुनसम्म हेटौंडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा हुने राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीका लागि मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएकाे छ । मूल समितिलाई सहयोग पुर्याउन विभिन्न १० उपसमिति गठन गरिएको छ ।
प्रदर्शनीमा अटो, कम्प्युटर सूचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलफूल, तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवं सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित जम्मा ४४० कक्ष राखिने मकवानपुर उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।
मेला अवधिभर अवलोकन गर्न आउने सर्वसाधारणको रुचिअनुसार उचित मूल्यमा हेलिकोप्टरबाट हेटौँडा बजारलगायत प्राचीन स्थलको अवलोकन गराइने कार्यक्रम छ ।
प्रदेश नं ३ सरकारको तर्फबाट गरिन लागेको आर्थिक समृद्धिको कार्यक्रममाथि अन्तरक्रिया गरिनुका साथै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिने आयोजकले बताएको छ ।
उक्त प्रदर्शनीको अवधिभित्र करीब एक लाख दर्शकले अवलोकन गर्ने तथा करीब रू. सात करोड बराबरको आर्थिक कारोबारको लक्ष्य राखेको छ ।