टिप्पणी आइतबार, चैत ९, २०७६

कोरोना विरुद्ध आदर्श दैनिकी

हिमालखबर

कोरोना विरुद्ध आदर्श दैनिकी
डा. रामदेव पण्डित

विश्व जनस्वास्थ्यकै चुनौती बनिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै वेला भित्रिन सक्ने जोखिम छ । उत्तर छिमेक चीनबाट शुरू भई धेरै मुलुकमा फैलिएको भाइरसको संक्रमण छिमेक भारतमा पनि देखिइसकेको छ । हालसम्म यसको उपचार नभेटिएकाले संक्रमण हुनै नदिनु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै उत्तम उपाय हो ।

हाम्रो आनीबानी र कतिपय दैनिक क्रियाकलाप नै रोगको कारण बनिरहे पनि यसबारे सबै सचेत हुँदैनन् । यसै समस्यालाई ध्यानमा राख्दै आयुर्वेद शास्त्रहरूमा साझा आदर्श दिनचर्याबारे चर्चा गरिएको छ । आयुर्वेद शास्त्रहरू चरक संहिता, सुश्रुत संहिता, अष्टाङ्ग संग्रहमा बताइएको ऋतुचर्या र आदर्श दिनचर्या यहाँ प्रस्तुत छ ।

ऋतुचर्या

आयुर्वेदका अनुसार वसन्त ऋतु (चैत–वैशाख) मा कफको समस्याले बढी सताउँछ । यस्तो वेला शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । प्रतिरोधी शक्ति सबल बनाउन आदर्श ऋतुचर्यामा जोड दिइएको छ । यस अन्तर्गत वसन्त याममा पिरो, तीतो वा टर्रो सेवन गर्नुपर्छ । खासगरी मह, जौ, गहुँ, आसव (फलफूल, जडीबुटी आदिको सार निकालेर औषधिका लागि बनाइएको मदिरा), तातोपानी, अदुवा–पानी, मह–पानी सेवन गर्न भनिएको छ।

चिया र कफी हानिकारक मानिए पनि यो ऋतुमा यिनको सेवन सम्यक् रूपमा गर्दा कफको समस्या दूर हुन्छ । यस मौसममा भातभन्दा रोटी खानु लाभदायी हुन्छ । पचाउन कठिन हुने, चिसो, चिल्लो, गुलियो, अमिलो र नुनिलो वस्तुको सेवन नगर्न भनिएको छ । कफ बढाउने भएकाले माछा, मासु, अण्डा, दूध वा दुग्धजन्य खाद्यपदार्थ र मैदाबाट बनेका बेकरीका परिकार सेवन गर्नुहुँदैन ।

कफ सफा गर्न वमन चिकित्सा (जडीबुटी प्रयोग गरी बान्ता गराइने), नस्य चिकित्सा (जडीबुटी राखी नाक सफा गरिने), व्यायाम, सुक्खा मालिस गर्नुपर्छ भनिएको छ । शरीरमा सुगन्धकारी प्राकृतिक वस्तु लगाउनु, कपालमा सुगन्धित तेल दल्नु र सङ्गीत श्रवण गर्नु यस ऋतुमा हितकारी बताइएको छ । सहवासलाई पनि हितकर मानिएको छ ।

दिनचर्या

ब्रह्ममुहूर्त वा सूर्योदय हुनु अगावै उठ्ने बानी बसाल्नुपर्छ । यो समयमा वातावरणमा अक्सिजनको मात्रा अधिक हुने हुँदा शरीरले स्वच्छ वायु पर्याप्त मात्रामा प्राप्त गर्छ । राति अबेरसम्म जागा बस्दा शरीरको रोग प्रतिरोधी क्षमता घट्छ भने उचित समयमा सुतेर ब्रह्ममुहूर्तमा उठ्दा बढ्छ ।

उठेलगत्तै आधादेखि एक लिटर मनतातो पानी (त्रिफलासँग पनि लिन सकिन्छ) पिउनुपर्छ । दिसा र पिसाब सहज रूपमा निकाल्नैपर्छ । यसले पेट हल्का र मन शान्त बनाउँछ । आगोमा पकाइएको सुगन्धित, क्षारीय जलबाट मुख कुल्ला गर्नुपर्छ । पिरो, तीतो वा टर्रो स्वादयुक्त मञ्जनबाट दाँत माझ्नुपर्छ र जिब्रो पनि सफा गर्नुपर्छ ।

आयुर्वेद शास्त्रहरूमा सुझाइएको आदर्श दिनचर्या कोरोना भाइरस संक्रमण विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुनसक्छ।

त्यसपछि एकदेखि डेढ घण्टासम्म व्यायाम गर्नुपर्छ । योग गर्न सके झ्नै उत्तम हुन्छ । योगले शरीर पुष्ट र प्राणायामले मन स्थिर पार्छ भने ध्यानले मन एकाग्र र शान्त बनाई सकारात्मक सोचमा अभिवृद्धि गराउँछ ।
दैनिक स्नान गर्नुपर्छ । यसले छालाको छिद्र खुलाउँछ र शरीरको तापक्रम सन्तुलित बनाउँछ । पसिना आउने गरी व्यायाम गर्दा केहीबेर आराम गरेर मात्र स्नान गर्नुपर्छ ।

मुख र हातगोडा धोएर घरमै पकाएको खाना आवश्यक मात्रामा र राम्ररी चपाएर खानुपर्छ । आधा पाकेका मांसाहार आदिको सेवनले कोरोना भाइरसको प्रकोप बढेको देखिएकाले पूरा पाकेको भोजन मात्र ग्रहण गर्नुपर्छ । साँझ्मा हल्का मात्र खाना खानुपर्छ । खाएको दुईदेखि तीन घण्टापछि हातगोडा धोई कमभन्दा कम बस्त्र लगाएर सुत्नुपर्छ ।

प्रतिकृया दिनुहोस