रिपोर्ट शनिबार, चैत ८, २०७६

कोरोना महामारीमा नेताः कोही सेल्फ क्वारेन्टाइनमा, कोही नियमित भेटघाटमा

हिमालखबर

कोरोना महामारीमा नेताः कोही सेल्फ क्वारेन्टाइनमा, कोही नियमित भेटघाटमा
तस्वीर: फ्रेम नेपाल डटकम

विश्वव्यापी फैलिरहेको कोरोना महामारीका कारण राजनीतिक दलका प्रमुख नेताहरू राजनीतिक भेटघाट बन्द गरी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।उनीहरूले फुर्सदको समय अध्ययन र लेखपढमा बिताएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटघाट कार्यक्रमलाई बन्द गरेका छन् । कार्यकर्तासँगको भेटघाट बन्द भएपछि दर्शन, साहित्यसँग सम्बन्धित नेपाली र अंग्रेजी माध्यममा लेखिएका पुस्तक अध्ययनमै उनको दिन बित्ने गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिनदेखि भेटघाटलाई बन्द गरेका छन् । “एकदमै नगरी नहुने र महत्वपूर्ण भेटघाट मात्र गर्नुभएको छ,” सभापति देउवाका सहयोगी भानु देउवाले भने, “महत्वपूर्ण भेटघाट पनि दूरी कायम गर्नुहुन्छ, अरु समय घरमै बस्नुहुन्छ । फुर्सदमा पत्रपत्रिका र किताब हेर्नुहुन्छ ।”

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने भेटघाटलाई बन्द गरेका छैनन् । तर, कोरोनाको सन्त्राससँगै भेटघाटका लागि आउने कार्यकर्ताको संंख्या पातलिएको छ । सकेसम्म भेटघाटलाई बन्द गरेर अध्ययनमा समय खर्चने योजना छ, नेपालको ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भेटघाटलाई बन्द गरेर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । “लक डाउनमा जानुपर्दछ भनेर पहिल्यदेखि नै भन्दै आएको हुँ”, नेता श्रेष्ठले हिमालसँग भने, “सचिवालयसम्मको एकदमै महत्वपूर्ण भेटघाट आवश्यक परेमा मात्र गर्छु नभए सबै भेटघाट बन्द गरेको छु ।”

फुर्सदको समयमा नेता श्रेष्ठले दिपक चोप्राद्वारा लिखित ‘मेटा ह्युमन’ नामक पुस्तक अध्ययनमा लागेका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलले पनि कार्यकर्ता भेटघाटलाई बन्द गरेका छन् । दिनको एकपटक थोरै समयका लागि पार्टी कार्यालय धुम्बाराही पुग्ने गरेको र बाँकी समय घरमै बिताउने गरेको पौडेलले बताए । खाली समय अध्ययनमै बिताउने योजना रहेको उनले सुनाए ।

नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे भने कार्यक्रम र भेटघाटलाई निरन्तरता दिइराखेका छन् । शुक्रबार मात्रै उनी पूर्व अर्थमन्त्रीहरूको भेलामा सहभागी भए । पाण्डेकै अग्रसरतामा बनेको पूर्व अर्थमन्त्री फोरमको भेलामा डा. रामशरण महत, वर्षमान पुन, ज्ञानेन्द्र कार्की, डा. प्रकाशचन्द्र लोहनी उपस्थित रहेका थिए ।

पूर्व अर्थमन्त्रीहरूको भेलामा कोरोनाको प्रभावबाट अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा छलफल भएको उनले बताए । “आर्थिक विषय र मुद्दाहरूमा छलफलका लागि फोरम बनेको हो,” पाण्डे भन्छन्, “कोरोनाले आर्थिक क्षेत्रमा पर्ने प्रभावको लेखाजोखा गरेर राहत प्याकेज अघि सार्न सरकारलाई आग्रह गरिएको छ ।”

शनिबार विहान पनि पाण्डे वीरगञ्जबाट आएका कार्यकर्ताहरूसँगको भेटघाटमा थिए । कोरोनाको कारण काठमाडौं बाहिरबाट मानिस आउने क्रम बन्द भएपछि कार्यकर्तासँगको भेटघाट पातलो भएको उनी बताउँछन् ।

नेता पाण्डे अध्ययनलाई हरेक दिनजसो ३ घण्टा समय छुट्याउँछन् । उनले इन्टरनेटको माध्यमबाट ई सपमा उपलब्ध पुस्तकहरू अध्ययन गर्दछन् । अहिले ‘रोकफेलरको’ बारेमा लेखिएको पुस्तक अध्ययन गरिरहेको उनले बताए ।

राप्रपा नेता दीपक बोहोरा पनि सप्पूर्ण भेटघाटलाई बन्द गरी सेल्फ क्वारेन्टाइनमा छन् । हरेक विहान साढे सात बजे महेन्द्र पुलिस क्लब जाने बोहोराको दैनिकी बदलिएको छ । अहिले घरमा व्यायाम गर्छन् र पुस्तक र पत्रपत्रिका अध्ययन गरेर दिन कटाउँछन् । अहिले उनी अंग्रेजीमा लिखित ‘नेचर’ नामको पुस्तक अध्ययनमा लागेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरमा कार्यकर्तालाई कोरोनाको बारेमा सचेतना बाँडिरहेका छन् । सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित भएकाले भेटघाटका लागि आउने कार्यकर्तालाई कोरोनाबाट सतर्क रहन बताएको उनले बताए । उनकी आमा नोना कोइरालाको स्मृतिमा गठन भएको नोना कोइराला स्मृति प्रतिष्ठान मार्फत घर घरमा पुगेर मास्क वितरण गर्ने योजना रहेको कोइरालाले सुनाए ।

 

प्रतिकृया दिनुहोस