व्यक्तित्व शनिबार, चैत ८, २०७६

सिर्जनशील अराजक

हिमालखबर

सिर्जनशील अराजक
डीपी भण्डारी (१ कात्तिक १९९२ – १ चैत २०७६)
अरुण गुप्ताे

“भण्डारी सर के गर्नुहुन्छ ?”

एक वर्षअघि डीपी (दुर्गाप्रसाद) भण्डारी सरको घर पुग्दा उहाँका सहयोगी डम्बर धानुकलाई मैले सोधेको थिएँ । “जहिले पनि किताब च्यापिरहेको वा छातीमा किताब राखेको देख्छु”, उनले भनेका थिए । उहाँ शिथिल हुँदै जानुभएको थियो । पढ्न सक्नुहुन्नथ्यो । विस्मृतिले च्यापेको थियो ।

“किताबलाई असाध्य माया गरे झैं हेरिरहनुहुन्छ । त्यसो गर्दागर्दै निदाउनुहुन्छ”, धानुकले सुनाएका थिए । उहाँ प्रायः फ्रेडरिक नित्सेका किताब मन पराउनुहुन्थ्यो ।

सन् ८० को दशकको अन्त्यतिर म अंग्रेजीमा स्नातकोत्तर गरिरहेको थिएँ । भण्डारी सर हाम्रा गुरु । त्यही वेला त्रिभुवन विश्वविद्यालयमा पढाउने सबै प्राध्यापकलाई दौरा–सुरुवाल लगाएर मात्र कक्षामा जान दरबारबाट उर्दी आयो । भण्डारी सरलाई त्यस्तो उर्दी मन परेन । तर, दरबारको आदेश नाइँनास्ति गर्न मिल्दैनथ्यो ।

एक दिन दौरा–सुरुवालमा ठाँटिएर कक्षामा पढाउन थाल्नुभयो । त्यही वेला इँजार फुस्किएर सुरुवाल घुँडामुनि पुग्यो । एकजना विद्यार्थी अगाडि गएर लगाइदिन थाले । तर, उहाँले अलिकति पनि असहज नमानी पढाइरहनुभयो । शायद उहाँले दरबारको उर्दीप्रति सांकेतिक विरोध जनाउन इँजार खुकुलो गरी बाँध्नुभएको थियो ।

“शिक्षक भनेको छाता बोकेको, पुरानो कोट लगाएको हुन्छ” भन्ने छविलाई उहाँले नै परिवर्तन गर्नुभएको हो । उहाँको ‘ड्रेस सेन्स’ राम्रो थियो । प्रायः क्रिम रङको पाइन्ट लगाउनुहुन्थ्यो । टोपी उहाँको पहिचान नै बनेको थियो ।

भण्डारी सर ‘ग्रीक ट्र्याजेडी’ विज्ञ हुनुहुन्थ्यो । नित्से, शोपेनहावर जस्ता दार्शनिकहरू मन पराउनुहुन्थ्यो । एक दिन सोफोक्लिसको दुःखान्त नाटक ‘ओडिपस रेक्स’ पढाइरहनुभएको थियो । पढाउँदा पढाउँदै रुन थाल्नुभयो । “म अब पढाउन सक्दिनँ, यो पाठ श्रीधरले पढाउँछ”, भनेर निस्कनुभयो । हाँसो–ठट्टा गर्ने मानिसको त्यो रुप हाम्रा लागि अनौठो थियो ।

सन् ८० कै दशकको अन्त्यमा म, सञ्जीव उप्रेती, सजग राणा त्रिविमा भर्खरै पढाउन थालेका थियौं । त्यसवेला उहाँ मोटरसाइकल चलाउनुहुन्थ्यो । एक दिन भन्नुभयो, “मेरो मोटरसाइकल पन्चर भयो, घिसार्न सक्दिनँ तिमीहरूले टीयू गेटसम्म लगिदेओ ।” मैले मोटरसाइकल घिसार्न थालें । त्यही क्रममा सरले नित्सेलाई मन पराउनुको कारण सोधें । उहाँले कुनै पनि आस्था स्वयम्मा गलत नहुने तर, त्यसलाई आफ्नो इच्छा अनुसार परिभाषित गर्नु चाहिं गलत हुने बताउनुभयो ।

सन् १९९६ मा रुसी सांस्कृतिक केन्द्रमा नाटक ‘चेन्जिङ ड्रिम्स’ मञ्चन गरिएको थियो । त्यसमा सुकरात बन्ने पात्र भेटिएको थिएन । अभि सर र मैले भण्डारी सरलाई आग्रह गर्‍यौं । कहिल्यै नाटक नखेलेको उहाँले प्रस्ताव स्वीकार गर्नुभयो । त्यो तत्परता गज्जबको थियो ।

केन्द्रीय अंग्रेजी विभाग अंग्रेजी साहित्यको मात्र नभएर कला, दर्शनका साथै नेपाली, बङ्गाली, स्कटिस साहित्यको पनि सङ्गम थियो । यो सबै उहाँको अध्ययनशील व्यक्तित्वका कारण सम्भव भएको हो । पश्चिमा यौन मनोविज्ञानबाट प्रभावित हुँदै लेखिएका उहाँका आलेख विवादमा पनि परे ।

यौनका कुरालाई कलड्ढका रुपमा लिनुहुँदैन, यो समाजको अभिन्न पक्ष हो । धर्म, कला, संस्कृति आदिले स्वीकार गरेका छन् भन्ने उहाँको मान्यता थियो । उहाँसँग दिनभरि गफिंदा पनि उच्छृङ्खल लाग्दैनथ्यो ।

सञ्चारमाध्यममा भने उहाँको अर्कै छवि प्रस्तुत भइरहेको हुन्थ्यो । मलाई लाग्छ, उन्मुक्त हुने वा रुढिवादी परम्परालाई तोड्ने प्रयत्नको रुपमा डीपी भण्डारी सर पटक–पटक सिर्जनशील अराजकको अर्थमा त्यसरी प्रस्तुत हुनुभएको हो ।

श्रीधर लोहनी, रामेश्वर अधिकारी, योगेश्वर बर्मा र अभि सुवेदी प्रायः भण्डारी सरसँगै हुने । चारजना भएपछि काम विनै मोटरसाइकलमा रिङरोडको चक्कर मार्ने । एक दिन कसैको घरमा पार्टी आयोजना गरिएको थियो ।

भण्डारी सर आइपुग्नु भएन । अभि सरले मलाई एकजना साथीसँग मोटरसाइकलमा उहाँको घर पठाउनुभयो । उहाँ त घरमा धर्मेन्द्रको ‘आँखे’ फिल्म हेरिरहनुभएको रहेछ । हामीलाई आधाघन्टा पर्खाएर फिल्म सकिएपछि मात्र निस्कनुभयो । त्यो दिन हामीले नित्से, टैगोरका फ्यान गम्भीर भएर धर्मेन्द्रको फिल्म हेरिरहेको देख्यौं ।

उहाँले दार्शनिक लेखहरू धेरै लेख्नुभएको छ । व्यङ्ग्य पनि त्यत्तिकै छन् । आफ्नै साथीलाई पनि व्यङ्ग्य गरेर लेख्नुहुन्थ्यो । ‘रामेश्वर अधिकारीले हलुवा खान पाएन’ यस्तै एउटा आलेखको शीर्षक हो ।

उहाँ धेरै जनाको उपनाम राखिदिनुहुन्थ्यो । ती उपनाम उहाँका निबन्धमा पनि छन् । डोटी पुख्र्यौली घर भएका उहाँका मृगस्थली, निरो बाँसुरी बजाइरहेछ, रोटी र फूल, यो धरती त्यो आकाश पुस्तक प्रकाशित छन् ।

(टी एन घिमिरेसँग कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस