आइतबारदेखि शेयर बजार दुई साता बन्द
आगामी आइतबार (९ चैत) देखि शेयर कारोबार दुई साताका लागि बन्द हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेकको अन्य सेवा बन्द हुने घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्जमा हुने कारोबार २१ चैतसम्मका लागि बन्द हुने भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यकीय सेवा भनेर तोकिएका बाहेक सेवा २१ चैतसम्मका लागि बन्द गरिने घोषणा गरेका थिए । तर, शेयर कारोबार अत्यावश्यकय सेवामा पर्दैन ।
यसअघि, शेयर बजारसँग सम्बन्धित सरोकारवालका विभिन्न संस्थाले शेयर कारोबारलाई बन्द गर्न नेपाल धितोपत्र बोर्डसमक्ष अनुरोध गरेका थिए । तर, बोर्डले कारोबार बन्द गर्न नसकिने जवाफ दिएको थियो ।
विहीबार कारोबार बन्द हुने हल्ला चलेपछि नेप्से परिसूचक उतारचढाव हुँदै १३.५ अंकले बढेर बन्द भएको थियो ।