थप समाचार शुक्रबार, चैत ७, २०७६

कोरोनाको आशंकामा अस्पताल जानेलाई काठमाडौं महानगरकाे एम्बुलेन्स, ठूला जात्राहरुमा रोक

हिमालखबर

कोरोनाको आशंकामा अस्पताल जानेलाई काठमाडौं महानगरकाे एम्बुलेन्स, ठूला जात्राहरुमा रोक

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण भएमा वा वरपर कसैलाई भएको देखेर अस्पताल जानका लागि काठमाडौं महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार अपिल जारी गर्दै कोरोना संक्रमणको आंशका वा अन्य केही आकस्मिक अवस्था भए १०२ नम्बर र टोल फ्री नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन् ।

महानगरले कोरोना भाइरसको बारेमा डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपाल भाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको र अझै बढाउँदै लैजाने पनि बताएका छन् ।

काठमाडौं महानगरभित्रका सबै वडाहरूमा रहेका विपद् व्यवस्थापन समितिलाई समेत सचेतना र सहयोगका काममा सक्रिय सहभागी गराउने भएकाले ती समितिहरूसँग समन्वय गर्न पनि अपिल गरेका छन् ।

प्रमुख शाक्यको अपिलमा भनिएको छ, “अहिले नजिक आइरहेका पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ ।

तर, अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको बिधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रा पर्व नमनाउन पनि हार्दिक अपिल गर्दछु । धार्मिक स्थलहरुमा पनि भिडभाड नगर्न आग्रह छ ।”

 

प्रतिकृया दिनुहोस