थप समाचार शुक्रबार, चैत ७, २०७६

सकेसम्म घरबाटै काम गर्ने व्यवस्था गर्न संचारगृहलाई पत्रकार महासंघको आग्रह

हिमालखबर

सकेसम्म घरबाटै काम गर्ने व्यवस्था गर्न संचारगृहलाई पत्रकार महासंघको आग्रह

नेपाल पत्रकार महासंघले कोरोना भाइरस संक्रमण बारेका समाचार सत्यतथ्यमा आधारित भएर लेख्न र पत्रकारहरु आफैं पनि सुरक्षित हुने गरी काम गर्न आग्रह गरेको छ।

महासंघले शुक्रबार 'कोभिड निर्देशिका' जारी गर्दै कोरोनाको बारेमा जिम्मेवार भएर समाचार लेख्न र आफू सुरक्षित हुन सचेत गराएको हो।

निर्देशिकामा कसैलाई कोरोनाको आशंका भन्ने समाचार लेख्नुपरे स्पष्ट आधार र प्रमाणका आधारमा मात्र लेख्न तथा कसैले संक्रमित हुन सक्ने आशंकामा जाँच गराए ‘कोरोना संक्रमित’ भनेर लाञ्छना लगाउने शब्दहरुको प्रयोग नगर्न तथा कोही संक्रमित भएमा पनि व्यक्तिगत गोपनीयता कायम राखिदिन भनेको छ।

‘आफू सुरक्षित रहौं’

महासंघको निर्देशिकामा घरमै बसेर गर्न मिल्ने काम घरबाटै गर्ने व्यवस्था गर्न सञ्चार गृहहरुलाई पनि आग्रह गरिएको छ।

सकेसम्म इमेलबाट समाचार\रिपोर्ट फाइल गर्ने, स्रोतसँग टेलिफोन वा अनलाइनको माध्यमबाट कुरा गर्ने, कार्यालयमा पनि भिडभाड बढी नगर्ने तथा स्वयं व्यक्ति र कार्यालयले सुरक्षाका सक्दो उपाय अपनाएर आफू सुरक्षित हुन भनिएको छ।

प्रतिकृया दिनुहोस