थप समाचार विहीबार, चैत ६, २०७६

गाउँमै खानेपानीकाे धारा पाएपछि स्थानीय खुशी

हिमालखबर

गाउँमै खानेपानीकाे धारा पाएपछि स्थानीय खुशी

छायाँनाथ रारा नगरपालिका–६ रन्जनबालै गाउँका २२ घरधुरी दलित समुदायले ११ वर्षपछि गाउँमै खानेपानीको धारा पाएका छन् ।

२०६५ सालमा गाउँको परम्परागत धाराको मुहान सुकेपछि ११ वर्षदेखि स्थानीयलाई खानेपानीको जोहो गर्न निकै सास्ती हुँदै आएको थियो।

गाउँबाट टाढा रहेको मुहानको पानी ल्याउन आर्थिक तथा प्राविधिक सहयोगका लागि विभिन्न निकाय र संघसंस्थामा धाए पनि स्थानीयको पानी खाने सपना पूरा भएन ।

निरास भएका उक्त गाउँका स्थानीयले अब भने छायाँनाथ रारा नगरपालिकाको सहयोगमा स्वच्छ पानी पिउन पाउने भएका छन्।

छायाँनाथ रारा नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७५\०७६ सालको बजेटमा रन्जनबालै गाउँमा पानी ल्याउन बजेट विनियोजन गरी यो कार्यमा हातेमालो गर्न गैरसरकारी संघसंस्थाहरूलाई आग्रह गरेको थियो।

स्थानीय सरकारको आग्रहपछि जिल्लामा क्रियाशील सहयोगी हातहरूको समूह साहस नेपाल, हिमाली ग्रामीण समाज विकास केन्द्र र स्थानीय हातेमाले महिला कृषि समूहले नगरपालिकासँग सहकार्य गरेर गाउँमा खानेपानी पुर्‍याउन सफल भएका हुन् ।

नगरपालिकाले ३ लाख, साहस नेपालले रु ३ लाख ७९ हजार, हिरिसडेकले १ लाख २० हजार र कृषि समूहले ५ लाख ११ हजार ७६५ बराबरको श्रमदान गरी गाउँमा ४ वटा धारा निर्माण गरिएको हो।

स्थानीय पञ्चकला नेपाली भन्छिन्, “गाउँमा रहेको पुरानो धाराको मूल सुकेपछि ६५ सालबाट गाउँको नजिकै रहेको नाउलो (कुवा) बाट पानीको प्यास मेटाउँदै आएका थियौं । यो कुवा सानो भएकाले गाउँलेहरूले पालो कुरेर पानी ल्याउनुपर्थ्याे, त्यसयता धारा बनाइदिन तत्कालीन गाउँ विकास समिति, जिविस, माननीय, एनजीओ सबैलाई गुहार्‍यौं, निवेदन दियौं सबैले आश्वासन मात्र दिए कसैले सुनुवाइ गरेनन्।

गाउँमा धारा नहुँदा नाउलाकै फोहोर पानी खानुपथ्र्यो, सबैको एउटै नाउलो भएकाले पानी दुषित भई गाउँमा रुघा–खोकी, झाडा–पखालाका बिरामीको संख्या अत्यधिक हुने गर्थ्याे।

अर्का स्थानीय झिमु नेपाली भन्छन्, “नाउलामा पानी खानुपर्थ्याे। गरीब, दलित भनेर हेला गरेका त होलान् सोचेका थियौ । आश मारेका थियौं नयाँ व्यवस्था आएको छ ।”

बुधबार गाउँमा खानेपानीको उद्घाटन गर्न पुगेका छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले भने, “गाउँलेको वास्तविक आवश्यकतामा आधारित भएर स्थानीयले माग गरेको योजनामा स्थानीय सरकार र साझेदारी संस्थाले लगानी गर्दा आज वर्षौंपछि यस गाउँका स्थानीयले पानी पाउने भएका छन् ।”

कुल १३ लाख ११ हजार ५ सय ३२ नगद र पाँच लाख ११ हजार सात सय जन–श्रमदानमा निर्माण भएको यस खानेपानी आयोजनाबाट रन्जनबालै गाउँका २२ घरधुरीका २ सय १८ जना लाभान्वित भएका छन्।

अच्युत राज भण्डारी, मुगु

 

प्रतिकृया दिनुहोस