थप समाचार विहीबार, चैत ६, २०७६

परीक्षा केन्द्र पुगेका परीक्षार्थीलाई गाउँपालिकाले घर पुर्‍याइदियो

हिमालखबर

परीक्षा केन्द्र पुगेका परीक्षार्थीलाई गाउँपालिकाले घर पुर्‍याइदियो

दोलखाको गौरीशंकर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन परीक्षा केन्द्र पुगेका परीक्षार्थीलाई घरघरमै पुर्‍याइदिने व्यवस्था गरेको छ ।

बिहीबार बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले आफ्नो गाउँपालिकामा रहेको हलेश्वर उच्च मावि केन्द्रमा परीक्षा दिन आएका पाँच विद्यालयका १३० जना विद्यार्थीलाई घर पठाइदिएको हो ।

अर्को विद्यालयमा परीक्षा दिन पुगेका हलेश्वर उच्च माविका विद्यार्थीहरुलाई पनि गाउँपालिकाले नै ल्याउने व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

आफ्नो विद्यार्थी ल्याउन तथा आफ्नो गाउँपालिकामा परीक्षा दिन आएका टाढाका परीक्षार्थीलाई लागेको यातायात खर्च गाउँपालिकाले नै व्यवहोर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीले जानकारी दिइन् ।

गौरीशंक गाउँपालिकास्थित हलेश्वर उच्च माविका विद्यार्थीको केन्द्र बिगु गाउँपालिकाको गौरीशंकर मावि जगतमा केन्द्र परेको थियो । हलेश्वरका शिक्षक रामकृष्ण खत्रीका अनुसार आफ्नो विद्यालयको विद्यार्थीलाई विद्यालयले नै व्यवस्था गरेर बस्ने प्रबन्ध गरेको थियो ।

बिगु गाउँपालिका र केन्द्र परेको विद्यालसँग सल्लाह गरेर विद्यार्थीलाई सहज हुने गरी एक कोठामा ३ वा ४ जना बस्ने गरी सिंगै घर परीक्षा अवधिभरिका लागि लिइदिएको थियो ।

हलेश्वरका ३० जना विद्यार्थी बिगु गाउँपालिकामा गौरीशंकर मावि जगतमा पुगेका थिए, उनीहरुलाई ल्याउने यातायात खर्च गाउँपालिकाले नै व्यहोर्ने उपाध्यक्ष थामीले बताइन् ।

प्रतिकृया दिनुहोस