रिपोर्ट बुधबार, चैत ५, २०७६

काेराेना महामारीः आर्थिक विस्तारमा रोकावट

रमेश कुमार

काेराेना महामारीः आर्थिक विस्तारमा रोकावट
२६ फागुन साँझ पर्यटकीय केन्द्र ठमेल।

–रमेश कुमार र राजु बास्काेटा

हतारको आकलन पनि हुनसक्छ, तर लगातार तीन वर्ष वार्षिक औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिपछि यो वर्ष आर्थिक वृद्धिदर पुरानै लयमा फर्कंदैछ, अर्थात् पुगनपुग ५ प्रतिशत ।

कोरोनाको प्रभाव लम्बिएमा आर्थिक वृद्धिदर त्यो भन्दा तल पनि झ्र्न सक्छ । यस्तो अनुमान पछाडि कोरोना प्रभावसहितका खास कारणहरू छन् । चालु आर्थिक वर्षको पहिलो ६ महीना (पुससम्म) को आर्थिक वृद्धिको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा संकुचन आउने देखाइसकेको छ । यो वर्षको दोस्रो त्रैमासिक (कात्तिक–पुसमा) ६.०३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भयो, जुन गएको वर्षको यही अवधिमा ६.४ प्रतिशत थियो ।

त्यस्तै, अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा यो वर्षको पहिलो त्रैमासिकमा ४.५५ प्रतिशत मात्रै हासिल भयो ।

कोरोनाले अर्थतन्त्र विस्तारका अवयवहरू थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योगमा सोझै असर पारेको छ । त्यसैले, यी दुई त्रैमासिकमा आर्थिक वृद्धिदर सामान्य मात्रै हुनसक्छ । अर्थशास्त्री केशव आचार्य पनि आर्थिक वृद्धिदरको गति सुस्ताउने आकलन गर्दै भन्छन्, “यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि भए पनि खुशी माने हुन्छ ।”

कोरोना भाइरसले थोक तथा खुद्रा व्यापारमा गहिरो चोट कसरी पार्दैछ भने वस्तु आयात माघसम्ममा ३.६ प्रतिशतले घटेको छ । फागुनमा आयात थप घटेको अनुमान छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक केरुङ र तातोपानी नाका १६ माघदेखि ठप्प छ । नाका बन्द हुनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले चीनबाट सामान आउन सुस्त थियो । यसले बजारमा चीनबाट आउने विद्युतीय सामान, लत्ताकपडा, जुत्ता तथा मेशिनरी उपकरणको अभाव हुन थालेको व्यवसायीहरू बताउँछन् । गएको वर्ष झण्डै ११ प्रतिशतले विस्तार भएको थोक तथा खुद्रा व्यापार क्षेत्र यो वर्ष आयातको सुस्तता, औद्योगिक उत्पादनको शिथिलता र कृषिको न्यून विस्तारका कारण गत वर्षको तुलनामा खुम्चिने देखिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशत योगदान दिएको निर्माण क्षेत्रलाई पनि कोरोनाले थला पारेको छ । कोरोनाका कारण विभिन्न जलविद्युत् आयोजना, सडक र विमानस्थल निर्माण प्रभावित भएपछि निर्माण क्षेत्रमा शिथिलता आएको छ । अर्थतन्त्रमा योगदान दिएको अर्को महत्वपूर्ण क्षेत्र यातायातमा पनि कोरोना सन्त्रासका कारण मानिसहरूको आवतजावत पातलिएपछि सुस्तता देखिएको छ । एअरलाइन्सहरूको उडान सुस्ताएको छ भने सडक यातायात पनि शिथिल भएको छ ।

चिनियाँ प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत्, ४५६ मेगावाटको तामाकोशी तथा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनामा पनि असर परेको छ । निर्माणको काम हुने मौसम हिउँदमै काम रोकिएपछि निर्माणाधीन कैयौं परियोजना पर धकेलिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।

अर्थतन्त्रका मुख्य आधारशिला पर्यटन, व्यापार, निर्माण र रेमिटेन्समा कोरोनाको असर छिरिसकेको छ । अर्थशास्त्री आचार्य कोरोना भाइरस संक्रमण विस्तारको अनिश्चय जस्तै नेपाली अर्थतन्त्रमा पर्ने असर पनि अनिश्चित रहेको बताउँछन् । “नेपाली अर्थतन्त्रमा कोरोनाले गहिरो चोट पार्दैछ भन्ने प्रष्ट भइसकेको छ, तर यसको प्रभाव कति लामो र गहिरो पर्छ भन्ने विषय यो महामारी कतिन्जेल रहन्छ भन्नेमा निर्भर गर्छ”, उनी भन्छन् ।

कोरोनाको प्रभावले अर्को वर्षसम्म नै अर्थतन्त्रको विस्तारमा बाधा पुर्‍याउने सङ्केतहरू मिलिसकेका छन् । जस्तो, पूर्वाधारका कैयौं परियोजनाको काम कोरोनाका कारण बिथोलिंदा विद्युत्का परियोजनाको उत्पादन समय ढिलो हुनेछ ।

चिनियाँ नयाँ वर्षको विदा मनाउन घर गएका प्राविधिक र अन्य कामदार कोरोना प्रकोपका कारण फर्किन नसक्दा र आवश्यक उपकरणहरू चीनबाट नआउँदा ती परियोजना अड्किएका हुन् । जलविद्युत्का मात्रै ४०० मेगावाटभन्दा बढी क्षमताका परियोजनामा प्रत्यक्ष असर परेको छ भने सयौं मेगावाटका अन्य परियोजना र प्रसारण लाइन तथा वितरण प्रणालीमा पनि अप्रत्यक्ष असर पुगेको छ । यिनको निर्माणले गति नलिंदा आन्तरिक सिमेन्ट, छड जस्ता निर्माण सामग्रीहरूको माग समेत कम भएर औद्योगिक उत्पादनमा असर तथा स्वदेशी रोजगारी सिर्जनामा पनि बाधा पुग्छ ।

आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल काम गरिरहेको चिनियाँ कम्पनी सीडब्लुईका कामदार नफर्किएपछि काम रोकिएको छ । असारमा सक्ने तर्खरमा रहेको रसुवामै निर्माणाधीन १४.८ र ४२ मेगावाटका माथिल्लो साञ्जेन र तल्लो साञ्जेन तथा रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी परियोजनाको निर्माण पनि रोकिएको छ ।

निजी क्षेत्रले बनाइरहेका ४८.८ मेगावाटको खिम्ती २, २० मेगावाटको लाङटाङ खोला, २५ मेगावाटको सिंगटी खोला, ८२ मेगावाटको तल्लो सोलु लगायतका आयोजना पनि अड्किएका छन् ।

चिनियाँ प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत्, ४५६ मेगावाटको तामाकोशी तथा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनामा पनि असर परेको छ । निर्माणको काम हुने मौसम हिउँदमै काम रोकिएपछि निर्माणाधीन कैयौं परियोजना पर धकेलिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् । “यसले स्वाभाविक रूपमा आयोजनाको लागत बढाउँछ र समयमै विद्युत् उत्पादन नहुँदा लाभ खेर जान्छ”, घिसिङ भन्छन् ।

त्रिशूली ३ बी र चिलिमे हब जोडिने तथा भरतपुर–बर्दघाट प्रसारण लाइनसहितका कैयौं प्रसारण लाइन निर्माण तथा ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन सञ्चालनको काम पनि रोकिएको छ ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम कोरोना भाइरस प्रभावका कारण रनवे र टर्मिनल भवनका उपकरण ल्याउन नसक्दा एक वर्ष पर धकेलिने देखिएको छ । निर्माणाधीन पोखरा विमानस्थलको गतिमा पनि कोरोना अवरोध पुगेको छ ।

प्रतिकृया दिनुहोस