रिपोर्ट मंगलबार, चैत ४, २०७६

अर्थतन्त्रमा कोरोना–कहर

हिमालखबर

अर्थतन्त्रमा कोरोना–कहर
२६ फागुन साँझ पर्यटकीय केन्द्र ठमेल ।

- रमेश कुमार र राजु बास्कोटा

छिमेकी चीन हुँदै १०० भन्दा बढी मुलुकमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को त्रासदीबाट सिर्जित सार्वजनिक स्वास्थ्यको सङ्कटबाट अहिलेसम्म जोगिए पनि नेपाली अर्थतन्त्रलाई गति दिने मुख्य चार क्षेत्र पर्यटन, पूर्वाधार निर्माण, रेमिटेन्स र वैदेशिक व्यापारमा यसको गम्भीर संक्रमण शुरू भएको छ ।

यो विश्वव्यापी महाव्याधीको समाधान कसरी हुन्छ भन्ने अन्योल जस्तै यो संक्रमणले नेपाली अर्थतन्त्रलाई कति लामो समयसम्म थला पार्छ भन्ने अनिश्चित छ ।

लगातार तीन वर्ष औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धि देखेको नेपालको यो वर्षको आर्थिक वृद्धिदर आर्थिक क्रियाकलापको सुस्ततामाथि कोरोनाले प्रभाव पारेपछि ५ प्रतिशतको हाराहारीमा खुम्चिने आकलन गरिएको छ ।

कोरोना प्रकोपले निर्माणाधीन कैयौं जलविद्युत् आयोजना, सडक र विमानस्थलको काममा सुस्तता ल्याएकाले अर्थतन्त्रमा आगामी वर्षसम्म नै यसको दुष्परिणाम पर्नेछ ।

यी आयोजनाको निर्माण जति छिटो सकिन्थ्यो, अर्थतन्त्रले उति गुणात्मक लाभको सिर्जना गर्न सक्थ्यो । कोरोना त्रासदीका कारण पर्यटकको आगमन नराम्ररी खस्किंदा पर्यटन क्षेत्र सुस्ताएको छ ।

कोरोनाले अर्थतन्त्र विस्तारका अवयवहरू थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योगमा सोझै असर पारेको छ । त्यसैले, यी दुई त्रैमासिकमा आर्थिक वृद्धिदर सामान्य मात्रै हुनसक्छ ।

पर्यटकको संख्या घट्नुको अर्थ काठमाडौंका तारे होटलदेखि दूरदराजका स–साना होमस्टे थला पर्नु मात्र होइन, पथप्रदर्शक, भरिया लगायतका हजारौंले रोजगारी गुमाउनु पनि हो ।

चीनमा आधारित ‘अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला’ बिथोलिंदा नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलन खल्बलिनेछ । सबैभन्दा डरलाग्दो चाहिं, झण्डै दुई दशक देशको अर्थतन्त्रलाई टेको दिएको रेमिटेन्सको भरथेग कोरोना प्रभावका कारण डगमगाउने सन्त्रास पैदा भएको छ ।

आर्थिक विस्तारमा रोकावट

हतारको आकलन पनि हुनसक्छ, तर लगातार तीन वर्ष वार्षिक औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिपछि यो वर्ष आर्थिक वृद्धिदर पुरानै लयमा फर्कंदैछ, अर्थात् पुगनपुग ५ प्रतिशत ।

कोरोनाको प्रभाव लम्बिएमा आर्थिक वृद्धिदर त्यो भन्दा तल पनि झ्र्न सक्छ । यस्तो अनुमान पछाडि कोरोना प्रभावसहितका खास कारणहरू छन् । चालु आर्थिक वर्षको पहिलो ६ महीना (पुससम्म) को आर्थिक वृद्धिको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा संकुचन आउने देखाइसकेको छ ।

यो वर्षको दोस्रो त्रैमासिक (कात्तिक–पुसमा) ६.०३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भयो, जुन गएको वर्षको यही अवधिमा ६.४ प्रतिशत थियो । त्यस्तै, अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा यो वर्षको पहिलो त्रैमासिकमा ४.५५ प्रतिशत मात्रै हासिल भयो ।

कोरोनाले अर्थतन्त्र विस्तारका अवयवहरू थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योगमा सोझै असर पारेको छ । त्यसैले, यी दुई त्रैमासिकमा आर्थिक वृद्धिदर सामान्य मात्रै हुनसक्छ ।

अर्थशास्त्री केशव आचार्य पनि आर्थिक वृद्धिदरको गति सुस्ताउने आकलन गर्दै भन्छन्, “यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि भए पनि खुशी माने हुन्छ ।”

कोरोना भाइरसले थोक तथा खुद्रा व्यापारमा गहिरो चोट कसरी पार्दैछ भने वस्तु आयात माघसम्ममा ३.६ प्रतिशतले घटेको छ । फागुनमा आयात थप घटेको अनुमान छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक केरुङ र तातोपानी नाका १६ माघदेखि ठप्प छ । नाका बन्द हुनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले चीनबाट सामान आउन सुस्त थियो ।

यसले बजारमा चीनबाट आउने विद्युतीय सामान, लत्ताकपडा, जुत्ता तथा मेशिनरी उपकरणको अभाव हुन थालेको व्यवसायीहरू बताउँछन् ।

कोरोना भाइरस संक्रमण त्रासका कारण साइपाल स्कूल, सुकेधारामा विद्यार्थीको तापक्रम जाँच गरिंदै ।

गएको वर्ष झण्डै ११ प्रतिशतले विस्तार भएको थोक तथा खुद्रा व्यापार क्षेत्र यो वर्ष आयातको सुस्तता, औद्योगिक उत्पादनको शिथिलता र कृषिको न्यून विस्तारका कारण गत वर्षको तुलनामा खुम्चिने देखिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशत योगदान दिएको निर्माण क्षेत्रलाई पनि कोरोनाले थला पारेको छ । कोरोनाका कारण विभिन्न जलविद्युत् आयोजना, सडक र विमानस्थल निर्माण प्रभावित भएपछि निर्माण क्षेत्रमा शिथिलता आएको छ ।

अर्थतन्त्रमा योगदान दिएको अर्को महत्वपूर्ण क्षेत्र यातायातमा पनि कोरोना सन्त्रासका कारण मानिसहरूको आवतजावत पातलिएपछि सुस्तता देखिएको छ । एअरलाइन्सहरूको उडान सुस्ताएको छ भने सडक यातायात पनि शिथिल भएको छ ।

अर्थतन्त्रका मुख्य आधारशिला पर्यटन, व्यापार, निर्माण र रेमिटेन्समा कोरोनाको असर छिरिसकेको छ । अर्थशास्त्री आचार्य कोरोना भाइरस संक्रमण विस्तारको अनिश्चय जस्तै नेपाली अर्थतन्त्रमा पर्ने असर पनि अनिश्चित रहेको बताउँछन् ।

“नेपाली अर्थतन्त्रमा कोरोनाले गहिरो चोट पार्दैछ भन्ने प्रष्ट भइसकेको छ, तर यसको प्रभाव कति लामो र गहिरो पर्छ भन्ने विषय यो महामारी कतिन्जेल रहन्छ भन्नेमा निर्भर गर्छ”, उनी भन्छन् ।

त्रिशूली ३ बी र चिलिमे हब जोडिने तथा भरतपुर–बर्दघाट प्रसारण लाइनसहितका कैयौं प्रसारण लाइन निर्माण तथा ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन सञ्चालनको काम पनि रोकिएको छ ।

कोरोनाको प्रभावले अर्को वर्षसम्म नै अर्थतन्त्रको विस्तारमा बाधा पुर्‍याउने सङ्केतहरू मिलिसकेका छन् । जस्तो, पूर्वाधारका कैयौं परियोजनाको काम कोरोनाका कारण बिथोलिंदा विद्युत्का परियोजनाको उत्पादन समय ढिलो हुनेछ ।

चिनियाँ नयाँ वर्षको विदा मनाउन घर गएका प्राविधिक र अन्य कामदार कोरोना प्रकोपका कारण फर्किन नसक्दा र आवश्यक उपकरणहरू चीनबाट नआउँदा ती परियोजना अड्किएका हुन् ।

जलविद्युत्का मात्रै ४०० मेगावाटभन्दा बढी क्षमताका परियोजनामा प्रत्यक्ष असर परेको छ भने सयौं मेगावाटका अन्य परियोजना र प्रसारण लाइन तथा वितरण प्रणालीमा पनि अप्रत्यक्ष असर पुगेको छ । यिनको निर्माणले गति नलिंदा आन्तरिक सिमेन्ट, छड जस्ता निर्माण सामग्रीहरूको माग समेत कम भएर औद्योगिक उत्पादनमा असर तथा स्वदेशी रोजगारी सिर्जनामा पनि बाधा पुग्छ ।

आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल काम गरिरहेको चिनियाँ कम्पनी सीडब्लुईका कामदार नफर्किएपछि काम रोकिएको छ ।

असारमा सक्ने तर्खरमा रहेको रसुवामै निर्माणाधीन १४.८ र ४२ मेगावाटका माथिल्लो साञ्जेन र तल्लो साञ्जेन तथा रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी परियोजनाको निर्माण पनि रोकिएको छ ।

निजी क्षेत्रले बनाइरहेका ४८.८ मेगावाटको खिम्ती २, २० मेगावाटको लाङटाङ खोला, २५ मेगावाटको सिंगटी खोला, ८२ मेगावाटको तल्लो सोलु लगायतका आयोजना पनि अड्किएका छन् । चिनियाँ प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत्, ४५६ मेगावाटको तामाकोशी तथा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनामा पनि असर परेको छ ।

निर्माणको काम हुने मौसम हिउँदमै काम रोकिएपछि निर्माणाधीन कैयौं परियोजना पर धकेलिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् । “यसले स्वाभाविक रूपमा आयोजनाको लागत बढाउँछ र समयमै विद्युत् उत्पादन नहुँदा लाभ खेर जान्छ”, घिसिङ भन्छन् ।

त्रिशूली ३ बी र चिलिमे हब जोडिने तथा भरतपुर–बर्दघाट प्रसारण लाइनसहितका कैयौं प्रसारण लाइन निर्माण तथा ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन सञ्चालनको काम पनि रोकिएको छ ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम कोरोना भाइरस प्रभावका कारण रनवे र टर्मिनल भवनका उपकरण ल्याउन नसक्दा एक वर्ष पर धकेलिने देखिएको छ । निर्माणाधीन पोखरा विमानस्थलको गतिमा पनि कोरोना अवरोध पुगेको छ ।

सुस्तायो पर्यटन

विदेशी पर्यटकको भारी बोकेर पदयात्रामा जान भ्याईनभ्याई हुनुपर्ने वेला काम नपाएपछि रसुवा, आरूखर्कका आइतराम तामाङ (२८) फुर्सदिला छन् ।

पर्यटनका लागि उपयुक्त समय मे महीनासम्मै काम पाइने छाँटकाँट नदेखिएपछि काठमाडौंबाट गाउँ फर्किएका तामाङ भन्छन्, “सिजनमै काम नपाइएपछि यो वर्ष घर खर्च चलाउन आपत् आइलाग्ने भयो ।”

काठमाडौंमा टुर गाइडको काम गरिरहेका नुवाकोटका भुमराज तिवारीले मार्च शुरू भएयता बल्लतल्ल दुई दिन काम पाए, अब कहिले काम पाइने भन्ने निश्चित छैन । चीनको वुहानबाट अढाइ महीनाअघि शुरू भएर विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले आइतराम र भुमराज जस्ता पर्यटनमा आश्रित हजारौंको दैनिकीलाई खल्बल्याउन थालेको छ ।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१८ मा गरेको अनुमान अनुसार, पर्यटन क्षेत्रले नेपालमा करीब ५ लाख प्रत्यक्ष र करीब त्यति नै अप्रत्यक्ष रोजगारी सिर्जना गरेको आकलन गरेको थियो ।

कोरोना धक्काको असर पर्यटन आश्रित पेशाकर्मी र उनीहरूका परिवारले भोग्नेछन् । बेरोजगारीले त्यस्ता परिवारलाई गरीबीतर्फ धकेल्ने जोखिम छ ।

आर्थिक वर्ष २०७५/७६ मा होटल र रेस्टुरेन्ट क्षेत्रले अर्थतन्त्रमा रु.६२ अर्ब ८१ करोड योगदान दिएको थियो । देशको कुल गार्हस्थ्य उत्पादनमा होटल र रेस्टुरेन्टले मात्रै २.०५ प्रतिशत योगदान गरेको छ ।

पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेलले पछिल्लो दुई महीना यता चमक गुमाउँदै गएको छ । पर्यटक अभावमा व्यापार सुस्ताएपछि पस्मिना, हस्तकलाका सामग्री बेच्ने कैयौं पसल तथा रेस्टुराँहरू बन्द भइसकेका छन् ।

पर्यटकलाई पदयात्रा गराउने ट्रेकिङ एजेन्सी, पर्वतारोहण, विमान र यातायात तथा पर्यटकले खपत गर्ने र खरीद गरी लैजाने वस्तु आदि सहितको योगदान अर्थतन्त्रका लागि महत्वपूर्ण हुन्छ ।

यी सबै जोड्दा अर्थतन्त्रमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत जति छ । तर, कोरोना–कहरले पर्यटन क्षेत्रमा धक्का लागेको छ । सरकारले २९ फागुनमा यो वर्षको वसन्त ऋतुमा सगरमाथासहितका पर्वतारोहणको अनुमति बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सगरमाथासहित वसन्त ऋतुमा आरोहण हुने अन्य ३० वटा हिमाली क्षेत्रको गतिविधि समेत सुनसान हुँदैछ भने सम्बन्धित क्षेत्रको अर्थतन्त्र यो वर्ष ठप्प हुनेछ ।

यता, पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेलले पछिल्लो दुई महीना यता चमक गुमाउँदै गएको छ । पर्यटक अभावमा व्यापार सुस्ताएपछि पस्मिना, हस्तकलाका सामग्री बेच्ने कैयौं पसल तथा रेस्टुराँहरू बन्द भइसकेका छन् ।

ठमेलको मुखैको कर्मचारी सञ्चय कोषको भवनमा सञ्चालित सात वटा पसल बन्द भएका छन् । ठमेलस्थित प्रतिभा उडन ह्याण्डिक्र्याफ्टका प्रोप्राइटर पदम देउजा भन्छन्, “२०७२ सालको भूकम्पपछि पनि ठमेल यस्तो सुनसान थिएन, अहिलेको स्थिति थप केही महीना रहे पसल बन्द भएर दर्जनौं व्यवसायी डुब्छन् ।”

विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ता तथा घरायसी प्रयोगका सामानको व्यापारमा पनि संकुचन आएको नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल बताउँछन् ।

“नयाँ सामान नआएकाले बजारमा चहलपहल छैन, अझै केही महीना आउने देखिंदैन, यही स्थिति रहे धितो ब्याङ्कलाई बुझाएर हिंड्ने अवस्था छ”, उनी भन्छन् ।

पर्यटन क्षेत्रले गति पाउने अपेक्षासँगै बितेका पाँच वर्षमा नेपाली पर्यटन उद्योगमा अभूतपूर्व लगानी भएको छ । राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार, पर्यटन क्षेत्रमा ब्याङ्क तथा वित्तीय संस्थाको रु.१ खर्ब ३७ अर्ब लगानी भएको छ ।

अर्बौं लगानीका होटलसहितका पूर्वाधार निर्माण भए पनि कोरोना त्रासका कारण व्यवसाय सङ्कटमा धकेलिएका छन् । कोरोना त्रासका कारण देशभित्रको आन्तरिक पर्यटन, आवागमन, सभा सम्मेलन, खेलकुद जस्ता गतिविधि पनि रोकिएका छन् ।

जसका कारण, होटल तथा रेस्टुराँको व्यवसाय मात्र खस्किएको छैन, ग्रामीण भेगका होमस्टे समेत थलिएका छन् । लमजुङको घलेगाउँमा होमस्टे चलाइरहेका दीर्घ घले सबै बुकिङ रद्द भएकाले २५० जनासम्मलाई सेवा दिन सक्ने आफ्नो होमस्टे रित्तो भएको बताउँछन् ।

कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई रु.४ अर्ब नोक्सान पुग्ने आकलन एशियाली विकास ब्याङ्कले गरेको छ । झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेपछि आन्तरिक उडानको भाडा दर आधासम्म घटेको छ ।

मौसमी पर्यटन व्यवसाय रहेको नेपालमा फेब्रुअरीदेखि मे महीनासम्म पर्यटकको आवागमन ह्वात्तै बढ्ने समय हो । तर, यही मुख्य सिजनमा पर्यटक नभएपछि होटलहरूको आम्दानीमा गिरावट मात्रै आउँदैन, ब्याङ्कहरूको ऋण तिर्ने क्षमता कमजोर हुन्छ । ब्याङ्कले ऋणको सावाँ–ब्याज असुल गर्न नपाए खराब कर्जा बढेर ब्याङ्किङ प्रणालीमै जोखिम उत्पन्न हुन्छ ।

ब्याङ्करहरूमा त्यस्तो त्रास शुरू भइसकेको छ । नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष तथा सानिमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, “कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरले ब्याङ्करहरूलाई ऋण नउठ्ने हो कि भन्ने तनाव शुरू भइसकेको छ ।”

पर्यटक आवागमन घट्दा देशको विदेशी मुद्राको स्रोतमा पनि धक्का लाग्छ । यो आर्थिक वर्षको पहिलो ६ महीनामा मात्र नेपालले पर्यटन क्षेत्रबाट ३७ करोड ५७ लाख डलर आम्दानी गरेको छ ।

विदेशी मुद्राको आय घट्दा देशको वैदेशिक मुद्राको सञ्चितिमा धक्का मात्र पुग्दैन, शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर) नकारात्मक बन्ने जोखिम हुन्छ ।

नेपाल राष्ट्र ब्याङ्कको अनुसन्धान विभागका एक अधिकारी आफूहरूको अध्ययनले दुई साता यता होटलहरूको अकुपेन्सी (भराइ दर) ५ प्रतिशतमा ओर्लिएको देखिएको बताउँछन् ।

मार्च शुरू भएसँगै पर्यटक ह्वात्तै घटेका मात्रै छैनन्, आगामी अप्रिलसम्मका लागि गरिएको बुकिङ समेत रद्द भएको व्यवसायीहरू बताउँछन् ।

पर्यटक नहुँदाको चक्रीय असर कृषि र स–साना उद्योगमा पनि पर्छ । होटलमा खाद्यान्न, तरकारी, पेय पदार्थ लगायतका अन्य सामग्रीका आपूर्तिकर्तासँग हुने कारोबार बिथोलिन्छ । यसले पर्यटनसँग साइनो जोडिएका अनेकौं क्षेत्रसँग सम्बद्धहरूको खल्तीमा चाप पार्न थालेको छ ।

पर्यटकले उपहारका रूपमा किन्ने गरेका हस्तकलाका सामग्रीको बिक्री ठप्पसरह भएपछि अहिले यस्ता सामग्री उत्पादन गर्ने उद्योगहरू सुस्ताएका छन् । हस्तकलाका सामग्री बनाउने कालिगड र कलाकारहरू बेरोजगार बनेका छन् । रु.४२० नाघेको कुखुराको मासुको भाउ सस्तिएर रु.३२० को हाराहारीमा आइपुग्नुमा कोरोना भाइरसको प्रभावका कारण पर्यटकको आवागमन घट्नुलाई मानिएको छ ।

कोरोना–कहरले आन्तरिक वायुसेवा कम्पनी र हेलिकप्टर सेवा प्रदायक पनि थलिएका छन् । कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई रु.४ अर्ब नोक्सान पुग्ने आकलन एशियाली विकास ब्याङ्कले गरेको छ । झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेपछि आन्तरिक उडानको भाडा दर आधासम्म घटेको छ ।

यो वर्ष आन्तरिक हवाई वायुसेवा कम्पनीलाई रु.४ अर्बभन्दा बढीको नोक्सान हुने अनुमान गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन् । उनका अनुसार, कोरोना भाइरसकै कारण नेपालका वायुसेवा कम्पनीहरूले कर्मचारीको २० देखि ५० प्रतिशतसम्म तलब सुविधा कटौती गर्ने र बेतलवी बिदा दिने निर्णय गरिएको छ ।

नेपाल आउने विदेशी वायुसेवाको उडान तालिका घटाउने तथा उडान बन्द नै गर्ने वायुसेवाका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ५० प्रतिशत घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

चीन जाने दुई वटा नेपाली वायुसेवा र चीनबाट आउने तीन वटा वायुसेवाको उडान बन्द भएको छ । नेपालबाट कतार जाने दुई नेपाली वायुसेवाको पनि उडान बन्द भएको छ । विदेशी वायुसेवाको चाप यात्रु नभएकै कारण दिनदिनै घट्दै जाँदा अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान ३५ प्रतिशत घटेको क्षेत्रीको भनाइ छ ।

जोखिममा रेमिटेन्स, आपूर्तिमा धक्का

कोरोना भाइरसको दुष्परिणामले झण्डै दुई दशकसम्म मुलुककै अर्थतन्त्रमा टेको बनेको रेमिटेन्स डगमगाउला कि भन्ने चिन्ता राष्ट्र ब्याङ्कका अधिकारीदेखि ब्याङ्करसम्ममा छाएको छ । देशको अर्थतन्त्रको प्रमुख खम्बामध्ये मानिएको रेमिटेन्समा आउने कम्पनले अर्थतन्त्रको जग नै हल्लिन्छ ।

वैदेशिक मुद्रा आर्जनदेखि, घरपरिवारले गर्ने सामान्य खर्चसम्मको आधार रेमिटेन्सकै कारण देशको गरीबी न्यूनीकरणमा ठूलो योगदान पुगेको छ । रेमिटेन्सको करीब ७९ प्रतिशत रकम उपभोगमा खर्च हुने तथ्याङ्कका आधारमा पनि यसमा पर्ने तल–बितलले बजार चलायमान हुन पाउँदैन । ब्याङ्कको लगानीयोग्य रकम तरलता कायम राख्न पनि मुख्य भूमिका रेमिटेन्सकै छ ।

नेपाल ब्यांकर्स एशोसिएसनका अध्यक्ष दाहाल महामारीकै कारण रेमिटेन्स घटेमा वित्तीय क्षेत्र चलायमान बनाउने स्रोत त सुक्ने होइन भन्ने चिन्ता लागेको बताउँछन् ।

श्रम बजारमा प्रत्येक वर्ष भित्रिने करीब पाँच लाख युवालाई रोजगारीको तत्काल व्यवस्थापन नसके बेरोजगारीको भयावह समस्या निम्तिने जोखिम छ ।

चिन्ता नहोस् पनि किन, पछिल्ला दिनहरूमा नेपालीको प्रमुख श्रम गन्तव्य खाडी क्षेत्रका कतारसहितका देशमा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । कतारले नेपालसहितका अन्य देशका नागरिकलाई तत्काल प्रवेश नदिने निर्णय गरेको छ । श्रम गन्तव्यका दुई देश दक्षिणकोरिया र जापानमा पनि कोरोना भाइरसको असर व्यापक छ ।

नेपाल आफैंले पनि २९ फागुनमा अनिश्चित कालसम्मका लागि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृतिलाई स्थगित गरेको छ । जसले गर्दा हजारौं नेपाली युवा तत्कालका लागि वैदेशिक रोजगारीमा जान बञ्चित भएका छन् ।

नेपाल भित्रिने रेमिटेन्सका लागि सबैभन्दा ठूलो जोखिम चाहिं कच्चा तेलको भाउ डरलाग्दो गरी खस्किनु हो । दुई महीना अघिसम्म प्रति ब्यारेल ६१ डलर रहेको कच्चा तेलको मूल्य ३३ डलरमा ओर्लिएको छ ।

यसले तेल निर्यातमा निर्भर खाडी राष्ट्रहरूको अर्थतन्त्रमा सुस्तता आई रोजगारीको अवसर कटौती हुनसक्छ । विश्व ब्याङ्कको सन् २०१६ को अध्ययनले कच्चा तेलको मूल्य घट्दा नेपाल जस्ता रेमिटेन्समा निर्भर देशको आय खुम्चने देखाएको थियो । नेपालले विगत एक दशकमा भित्याएको रेमिटेन्सको दुई तिहाइ स्रोत कच्चा तेलमा निर्भर खाडी राष्ट्रहरू नै थिए ।

चालु आर्थिक वर्षको पहिलो चार महीनाको तथ्याङ्कले पनि नेपालको प्रमुख श्रम गन्तव्यमध्ये तीन चौथाइ खाडी राष्ट्रहरू नै रहेको देखाएको थियो । अहिले कतारमा मात्रै ४ लाख ५० हजार नेपाली कामदार रहेको बताइन्छ ।

राष्ट्र ब्याङ्कका अनुसार, कतारले मात्रै देशको कुल रेमिटेन्सको करीब १८ प्रतिशत हिस्सा ओगट्छ । यस हिसाबले कच्चा तेलका धनी राष्ट्रहरूमा रोजगारी सिर्जना नहुँदाको सोझे असर नेपालको भातभान्छामा पर्न जान्छ । अहिले आधाभन्दा बढी नेपाली परिवारले रेमिटेन्सको आय थापिरहेको अनुमान छ ।

रेमिटेन्स ओरालो लाग्दा खराब कर्जा बढेर ब्याङ्क तथा वित्तीय क्षेत्रमा समेत जोखिम आउन सक्छ । चालु खाता र शोधनान्तर स्थितिमा पनि चाप पर्छ । देशले रेमिटेन्सको भरथेग गुमाउने हो भने अन्तर्राष्ट्रिय व्यापारमा चरम नोक्सानी बेहोरिरहेको देशले स्वाभाविक रूपमा विदेशी मुद्राको सञ्चिति र आम उपभोक्ताको क्रयशक्ति घटाउँछ ।

श्रम बजारमा प्रत्येक वर्ष भित्रिने करीब पाँच लाख युवालाई रोजगारीको तत्काल व्यवस्थापन नसके बेरोजगारीको भयावह समस्या निम्तिने जोखिम छ ।

कोरोनाले विश्व अर्थ–व्यवस्थालाई नै खल्बल्याएर सन् २००८ को आर्थिक मन्दीकै स्तरमा ओराल्ने हो कि भन्ने आशङ्का पनि बढेको छ । लगानीकर्ताको बेचैनीकै कारण न्यूयोर्क, लण्डन, सांघाई, मुम्बईसहित संसारभरिका शेयर बजारमा डरलाग्दो गरी पहिरो गएको छ । यसको अप्रत्यक्ष प्रभाव नेपालसम्मै आइपुग्छ ।

डलरको तुलनामा भारूसँगै नेरुको पनि अवमूल्यन भएको छ, जसका कारण नेपालले वस्तु र सेवा खरीद गर्दा थप मूल्य तिर्नुपर्नेछ । बितेको अढाइ महीनामा १ डलरको सामान खरीद गर्न झण्डै थप रु.५ बढी तिर्नुपर्ने भएको छ ।

संसारभरिको आर्थिक मन्दीले लगानी खोजिरहेको नेपाल जस्तो देशमा वैदेशिक लगानीसमेत कम भित्रिने अर्थशास्त्री डा. विश्वम्भर प्याकु¥याल बताउँछन् । “संसारभरिका लगानीकर्ताले ठूलो रकम गुमाइरहेका छन्, यस्तो स्थितिमा वैदेशिक लगानी भित्रिन कठिन हुन्छ”, उनी भन्छन् ।

विश्व बजारकै ‘उद्योग’ का नाममा चिनिने चीन विश्वव्यापी आपूर्ति शृङ्खलामा गहिरोसँग जोडिन्छ । सस्ता लत्ताकपडादेखि स्मार्टफोन र औद्योगिक उपकरणसम्म उत्पादन गर्ने चीनका उद्योगहरू बन्द हुँदा विश्व आपूर्ति प्रणालीमा नराम्रो धक्का पुगेको छ । जसले, नेपालको आपूर्ति प्रणालीमा पनि लामो समयसम्म प्रभाव पार्नेछ ।

कोरोना भाइरस सिर्जित महामारीले नेपाली रोजगारी र अर्थतन्त्रमा पार्ने असर रोक्न सरकारसँग धेरै विकल्प छैन । अर्थशास्त्री डा. प्याकुर्‍याल यस्तो वेला मौद्रिक र वित्तीय नीति मार्फत लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहनको नीति अघि सार्नुपर्ने आवश्यकता देख्छन् ।

यसले बढाउने कच्चा पदार्थ वा तयारी उत्पादनको मूल्य चुकाउन नेपाल जस्तो देशका लागि चर्को पर्छ । जस्तो कि, नेपालका एक जलविद्युत् उत्पादकले जापानबाट आयात गर्न खोजिएको जलविद्युत्को टर्वाइनमा प्रयोग हुने सामग्री चीनबाट निर्यात रोकिएकाले परियोजना निर्माण नै ढिलो भइरहेको बताएका छन् ।

चीनको कच्चा पदार्थमा निर्भर भारतीय औषधि उद्योगहरूले मूल्य बढाउने घोषणासँगै त्यसको असर नेपाली बजारमा देखिएको छ । अर्कातिर, कोरोना भाइरसले विश्व बजारमा शिथिलता ल्याएपछि नेपालको भारतबाहेक अन्य देशतर्फको  निर्यात व्यापारमा पनि सुस्तता आउँछ । नेपालको पस्मिना, गलैंचा, हस्तकलाका सामग्री उत्पादकहरू निर्यात खुम्चिइसकेको बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका अध्यक्ष प्रकाशसिंह कार्की निर्यात ठप्प भएको र आगामी केही महीनाहरूका लागि माग पनि नआएको बताउँछन् । “विदेशबाट माग नआएका कारण अहिले निर्यात शून्यसरह छ”, उनी भन्छन् ।

कोरोना भाइरस सिर्जित महामारीले नेपाली रोजगारी र अर्थतन्त्रमा पार्ने असर रोक्न सरकारसँग धेरै विकल्प छैन । अर्थशास्त्री डा. प्याकुर्‍याल यस्तो वेला मौद्रिक र वित्तीय नीति मार्फत लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहनको नीति अघि सार्नुपर्ने आवश्यकता देख्छन् ।

“पर्यटन उद्योगलाई सहुलियत ऋण, ब्याजदरमा सहुलियत दिएर मनोबल बढाउन सकिन्छ” उनी भन्छन्, “कतिपय उद्योगमा कर छूट पनि दिन सकिन्छ ।” करमा सुविधा दिंदा विश्वव्यापी आपूर्ति प्रणालीमा असर परेको मौका छोप्दै आन्तरिक उद्योग विस्तारको सम्भावनासमेत रहेको उनको तर्क छ ।

अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ पनि स्वाथ्य सेवाका पूर्वाधारमा बृहत् लगानी तथा कृषि र गैर कृषिजन्य उत्पादनलाई तीव्रता दिएर अहिलेको सङ्कटलाई आन्तरिक पूर्वाधार निर्माण र उत्पादनको अवसरमा बदल्नुपर्ने बताउँछन् । तर, विगतका अनुभवबाट सिक्न असफल सरकारले त्यस्तो रणनीति बनाउनेछ भन्नेमा संशय कायम छ ।

प्रतिकृया दिनुहोस