टिप्पणी मंगलबार, चैत ४, २०७६

कोरोना भाइरस विरुद्धको लडाईंमा मानवीय नेतृत्वको संकट

हिमालखबर

कोरोना भाइरस विरुद्धको लडाईंमा मानवीय नेतृत्वको संकट
  • युवल नोआ हरारी

धेरै मानिसहरू कोरोना भाइरसको प्रकोपमा भूमण्डलीकरणलाई दोषी ठहर गरिरहेका छन् । यस्ता प्रकोप नियन्त्रणका लागि भूमण्डलीकरणको प्रक्रियालाई रोक्नुपर्ने बताइरहेका छन् । सीमानामा पर्खाल, यात्रामा प्रतिबन्ध र व्यापार घटाउनु पर्नेमा उनीहरूको जोड छ ।

निश्चित समयका लागि क्वारेन्टाइन आवश्यक देखिन्छ तर दीर्घकालिन क्वारेन्टाइनले प्रकोप नियन्त्रणभन्दा बढी आर्थिक संकटलाई निम्त्याउँछ । बरु महामारी नियन्त्रणका लागि विभाजनभन्दा एकताले नै सहयोग पुर्‍याउँछ ।

अहिलेको भूमण्डलीकरणको युगभन्दा अघि पनि प्रकोपका कारण लाखौं मानिसको ज्यान गएको छ । १४औं शताब्दीमा हवाईजहाज थिएन, क्रुज पानी जहाजहरू थिएनन् र पनि पूर्वी एसियादेखि पश्चिम यूरोपसम्म कालाजारको महामारी फैलिएकै थियो । जसका कारण ७ करोड ५० लाख मानिसको मृत्यु भयो भने यूरेसियाको एक चौथाई जनसंख्या नष्ट भयो । बेलायतमा हरेक दशमा चार जनाको मृत्यु भयो । त्यस्तै फ्लोरेन्स सहरले आफ्नो १ लाख जनसंख्यामा ५० हजारलाई गुमायो ।

सन् १५२० को मार्चमा शितला प्रकोप  मेक्सिकोबाट फैलिन सुरु भयो । त्यतिवेला अमेरिकासँग ट्रेन, बस वा भारी बोक्ने गधासमेत थिएन तर अनुमानित तथ्यांक अनुसार त्यस वर्षको डिसेम्बरसम्ममा अमेरिकाको एक तीहाई जनसंख्या यही प्रकोपका कारण ध्वस्त भयो ।

यस्तै फ्लू सन् १९१८ मा पनि विश्वका केही भूभागमा फैलिएको थियो । यसबाट विश्वको करिब एक चौथाईं जनसंख्या संक्रमित हुन पुग्यो ।  भारतको कुल जनसंख्याको ५ प्रतिशत, तहीती आइस्ल्याण्डको १४ प्रतिशत र सामोआको २० प्रतिशत जनसंख्या एक वर्षभन्दा कम समयमा यो फ्लूको शिकार भएको अनुमानमा त्यसवेला गरियो । पहिलो विश्वयुद्धको भन्दा धेरै मानिसहरू यो फ्लूको कारण चार वर्षमा मारिए ।

सन् १९१८ भन्दापछि यातायातको विकास र जनसंख्याको वृद्धीसँगै मानव जाति झन प्रकोपको चपेटामा पर्‍यो । टोकियो र मेक्सिको जस्ता आधुनिक महानगरहरू मध्ययुगीन फ्लोरेन्स सहरको तुलनामा रोग संक्रमण हुन सक्ने सहरहरू हुन् । विश्वको यातायात सञ्जाल सन् १९१८ को तुलनामा कयौं गुणा वृद्धि भएको छ । एउटा भाइरस २४ घण्टामा पेरिसदेखि टोकियो र मेक्सिकोसम्म फैलिन सक्छ ।  त्यसैले हामी एकपछि अर्को यस्ता खतरनाक रोगसँग जतिसुकै बेला पनि सामना गर्न तयार भएर बस्नुपर्ने हुनसक्छ ।

घटना र महामारी दुबैको प्रभाव नाटकीय रूपमा कम हुँदै आइरहेका छन् । एड्स र इबोला जस्ता भयानक प्रकोपहरूका बाबजुद, एक्काईसौं शताब्दीमा महामारीले ढुंगे युगको तुलनामा थोरै मानिसलाई मात्रै हानि गरेको छ । यो सबै त्यस्ता प्रकोपविरुद्ध मानव जातिले गरेको उचित सुरक्षा उपायका कारण सम्भव भएको हो । सीमा विभाजनका कारणले  होइन ।

मानव जातिले पछिल्लो समय यसै गरी महामारी बिरूद्धको युद्ध जितेको छ । चिकित्सकहरूले सूचनाको वैज्ञानिक विश्लेषणमा भर परेर निरुपणको उपाय निर्क्यौल गरेका कारण यो सम्भव भएको हो ।

प्रकोपविरुद्धको युद्धमाथि विजय

जब १४औं शताब्दीमा कालाजार आयो, मानिसहरूलाई यसको कारण र निदान के हो भन्ने कुनै ज्ञान थिएन । आधुनिक युग नआएसम्म मानिसहरू प्राय: क्रोधित देवताहरू, राक्षस र दुषित हावालाई दोष दिन्थे, ब्याक्टेरिया र भाइरस हुन्छ भन्ने विश्वास गर्दैनथे । त्यतिवेला मानिसहरूलाई पानीको थोपामा समेत विष हुन्छ भनेर पत्यार लाग्दैन थियो ।

त्यसका लागि मानिसले भगवान खुशी पार्न पूजापाठ र प्राथना गर्न थाले । यसले रोग निरुपण गर्न सहयोग गरेन बरु उल्टै आम मानिसहरूमा फैलिन सघायो ।

पछिल्लो शताब्दीमा भने मानिसहरू यसमा सचेत हुन थालेका छन् । चिकित्सकहरूले पनि यस विषयमा थप सचेत भएर सूचनाको प्रवाह गरेका छन् र त्यसले रोग नियन्त्रण गर्न सहज भएको छ ।

पछिल्लो समय वैज्ञानिकहरूले बनाएका खोप, एन्टीबायोटिक्स र उपचारविधिले अलौकिक शक्तिको भर पर्नु परेको छैन । सन् १९६७ मा डेढ करोड मानिस शितलाबाट संक्रमित हुँदा २० लाख बढीले ज्यान गुमाउनु परेको थियो ।

पछिल्ला दशकहरूमा शितला विरुद्धको विश्वव्यापि अभियान अन्तर्गत खोपहरू तयार भएका छन् । विश्व स्वास्थ्य संगठनले सन् १९७९ मा शितला रोगलाई मानव जातिले पूर्ण रुपमा जितेको घोषणा नै गरेको छ । सन् २०१९ सम्म आइपुग्दा शितलाका कारण एक जना मानिसको ज्यान त के संक्रमण भएको समेत जानकारी छैन ।

सीमानामा पर्खाल लगाएर हुँदैन

यो इतिहासले कोरोनाभाइरसविरुद्ध लड्न के पाठ सिकाउँछ ?

सबैभन्दा पहिलो, सीमाना बन्द गरेर कसैले आफूलाई बचाउन सक्दैन । भूमण्डलीकरणभन्दा धेरैअघि मध्ययुगमा पनि प्रकोपहरू द्रुत गतिमा फैलिएकै थिए । बेलायतले सन् १३४८ मा जस्तो विश्वसँगको सम्बन्धबाट आफूलाई अलग्याए पनि तपाईं जोगिन सक्नु हुन्न । मध्ययुगीन समयमा त आफूलाई यो तरिकाले जोगाउन सकिएन भने के तपाईं आजको युगमा ढुंगेयुगभन्दा पछि फर्किन सक्नुहुन्छ ?

दोस्रो, इतिहासले देखाएको सत्य के हो भने वैज्ञानिक सूचनाको परस्पर सञ्चार र विश्व एकताले नै सुरक्षाका उपायहरू सिकाउँछ । जब कुनै देश प्रकोपको संक्रमणबाट ग्रस्त हुन्छ त्यसले आफ्नो वास्तविकतालाई आर्थिक अधोगतिसँग मात्रै नजोडेर विश्वलाई जानकारी दिनुपर्छ । जसका कारण अरु मुलुकले त्यसबाट जोगिन सुरक्षाका उपायहरू तय गर्न सकुन र महामारी रोक्नका लागि मद्दत पुगोस् ।

आजको समयमा चीनले विश्वलाई कोरोनाभाइरसबारे सिकाउन सक्छ तर त्यसका लागि उच्चस्तरको अन्तर्राष्ट्रिय विश्वास र सहकार्य आवश्यक पर्दछ ।

प्रभावकारी क्वारेन्टाइनको मापदण्ड बनाउन अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य देखिन्छ । कुनै पनि राष्ट्रले सीमाना बन्द र क्वारेन्टाइन गर्नु अहिलेको बाध्यात्मक अवस्था हो तर दुई मुलुकबीचको विश्वास टुट्न दिनु हुँदैन । त्यसमा हरेक राज्य र सरकार सचेत हुन जरुरी छ ।

भाइरसविरुद्ध लड्न मानिसले सीमानाको सुरक्षा गर्नु जरुरी छ तर देशहरूको बीचमा पर्खाल लगाउनु आवश्यक छैन । त्योभन्दा बढी मानिस र भाइरसको संक्रमणबीच सिमाना लगाउनु जरुरी छ ।

नेतृत्वविहीन विश्व

आज मानिस कोरोनाभाइरसका कारण मात्रै होइन, आपसी विश्वासको अभावले पनि तीव्र संकटमा परेका छन् । प्रकोपसँग लड्न समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नैपर्छ । पछिल्ला केही वर्षयता गैरजिम्मेवार राजनीतिकर्मीले विज्ञानप्रतिको नागरिक विश्वास तोड्ने प्रयास गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्‍याइरहेका छन् । परिणामत: आज विश्वले सर्वस्वीकार्य नेता पाउन सकेको छैन ।

सन् २०१४ को इबोला प्रकोप र २००८ को आर्थिक मन्दीका समयमा अमेरिकाले यस्तो व्यवहार देखाएको छ । जसका कारण विश्वका विभिन्न मुलुकले आर्थिक तथा स्वास्थ्य समस्याको शिकार हुनु परेको थियो ।

पछिल्ला केही वर्षयता अमेरिकाले विश्व नेतृत्वबाट आफ्नो भूमिकालाई साँघुरो बनाएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनजस्ता संस्थालाई गरिरहेको सहयोग कटौती गरेको छ । अमेरिका आफू विश्वको सहयात्रीभन्दा बढी स्वार्थ केन्द्रीत रहेको देखिइ सकेको छ । कोरोनाभाइरसको संक्रमण बढिरहेका वेला पनि अमेरिका किनारामा बसेर आफ्नो भूमिकाबाट पन्छिएको छ । यस्तो बेलामा अमेरिकाले यदि नेतृत्व नै गर्न चाह्यो भने पनि विश्वका कतिपय मुलुक उसलाई पत्याउन तयार छैनन् । आफूलाई केन्द्रमा राख्ने जो कसैलाई कसैले पत्याउँदैन ।

अमेरिकाले रिक्त राखेको यो भूमिका अरू कुनै मुलुकले निर्वाह गर्न सकेको छैन । जेनोफोबिया "पराइलाई घृणा", विभेद र अविश्वास प्राय: मुलुकमा देखा परेको छ ।  विश्वास र अन्तर्राष्ट्रिय एकताविना अहिले कोरोनाभाइरस र भविष्यमा यस्ता थुप्रै प्रकोपसँग हामी लड्न असमर्थ हुनेछौं । हरेक संकटले अवसर पनि सँगै लिएर आउँछ । आशा गरौं, यो प्रकोपले पनि मानवजातिलाई विश्व विभाजनले निम्त्याउने समस्या बारे सचेत गराउने छ ।

संकटको समयमा मानवताभित्र महत्वपूर्ण संघर्ष हुन्छ । यदि यस महामारीको परिणाम मानिसमा अत्यधिक असमानता र अविश्वासका रुपमा देखियो भने त्यो कोरोना प्रकोपको ठूलो जित हुनेछ । यदि मानवीय सहकार्य भयो र हामी यस प्रकोपविरुद्ध एक भएर लाग्यौं भने यो कोरोना भाइरस विरुद्धको मात्रै जित हुनेछैन, भविष्यमा आउने तमाम संकट विरुद्धकै जित हुनेछ ।

 

टाइम म्यागेजिनमा प्रकाशित युवल नोआ हरारीको आलेखको सारांश

अनुवाद: दिपेश शाही 

प्रतिकृया दिनुहोस