कला/साहित्य सोमबार, चैत ३, २०७६

के कोरोना भाइरस र यी आख्यान संयोग मात्र हुन् ?

हिमालखबर

के कोरोना भाइरस र यी आख्यान संयोग मात्र हुन् ?

- राजेश काेइराला

कल्पनाशीलताका आाधारमा पुस्तक लेखे र फिल्म बने पनि कोभिड–१९ को यो संक्रमण विज्ञानमा आधारित भविष्यवाणी भने होइन, त्यसैले यी स्वैरकल्पनाका पछाडि नलागी सरकार, चिकित्सक, स्वास्थ्य निकायकै सुझाव मान्नु यतिवेला उपयुक्त हुने देखिन्छ ।

बाथरूम र भान्सामा साबुन/झोल साबुन हुँदा काम चल्थ्यो । तर नोभल कोरोना भाइरस (कोभिड–१९) फैलँदै गर्दा मेरो अमेरिकी बसाइको आवश्यकतामा ‘स्यानिटाइजर’ थपियो । तर, औषधि र यस्तै वस्तुको दुई ‘आयल’ घुम्दा ‘स्यानिटाइजर’ पाइएन । पुछपाछ गर्ने ‘वाइप्स’ पनि सकिने अवस्थामा थियो । साथीहरू सुनाइरहेका छन्– एमाजनले ९९ सेन्ट्स पर्ने ‘स्यानिटाइजर’ १९ डलरमा बेच्यो । यसैबीच कोरोना भाइरस संक्रमणकै कारण १३ मार्चमा अमेरिकाले राष्ट्रिय सङ्कट घोषणा गरेको छ ।

सामाजिक सञ्जालमा साथीहरू अष्ट्रेलिया, जर्मनी आदि देशमा ट्वाइलेट पेपर सकिएको फोटो राखिरहेका छन् । मास्कको खबर नेपालदेखि अमेरिकासम्मका सञ्चारमाध्यममा छन् । ‘हात धुनुपर्छ है’ पनि जताततै भनिएको छ । भाइरस संक्रमणको त्रासका कारण सैगुन मार्केट (मुख्य रूपमा एशियाली खाना पाउने) पसलमा मानिस कमै छिर्ने गरेको साथीहरूले सुनाए । 

‘न्यूज टुनाइट’ मा डेभिड म्युअरको आधा घन्टाको कार्यक्रममा मक्का–मदिना करीब खाली र शेयर बजार गिर्दो देखियो । उनको रिपोर्टका अनुसार विश्वका २२ देशमा ३० करोड बालबालिका स्कूल बन्द भएपछि घर छन् । विद्यार्थीलाई १४ दिन आफ्नै वासस्थानमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

म काम गर्ने दोभाषे संस्था ‘ल्वाङ्वेज ब्याङ्क’ ले इमेल गर्दै भनेको रहेछ– ‘हामीले कार्यालयमा साना आकारका स्यानिटाइजरका बोतल राखेका छौं, साँचोको झुप्पोसँगै झुण्ड्याउन मिल्ने । केही वाइप्स पनि छन् । चाहिने लिएर जानु ।’ ल्वाङ्वेज ब्याङ्कले हामी जस्ता दोभाषेहरूलाई अस्पताल, अदालत, क्लिनिक, वकिलको कार्यालय आदिमा पठाउने गर्छ । केही दिनअघि मात्र रुघा, ज्वरो, खोकी आदि भए, बरू काममै नजानु भन्ने इमेल आएको थियो ।

यसै हल्लामाझ् सिल्भिया ब्राउनको किताब इन्ड अफ डेजः प्रेडिक्सन्स एण्ड प्रोफेसिस अबाउट द इण्ड अफ द वल्र्ड को चर्चा चल्यो । सन् २००८ मै प्रकाशित यो पुस्तकमा २०२० मा निमोनिया जस्तो एउटा बिमार संसारभर फैलने लेखेकी छन् । समाचारमा यसबारे फाट्टफुट्ट पढेपछि मैले किताब नै खोज्ने विचार गरें । स्थानीय म्यानचेस्टर सिटी लाइब्रेरीको वेबसाइटमा हेर्दा दुईमध्ये एकप्रति लाइब्रेरीमै रहेछ । किताब ल्याएँ । समाचारहरूले उल्लेख गरेको अंश निमोनिया जस्तो बिमारबारे भनिएको छ–  इन् अराउण्ड २०२० अ सेभियर निमोनिया–लाइक इलनेस विल स्प्रेड थ्रुआउट द ग्लोब, अट्याकिङ द लङ्स एण्ड ब्रोन्कियल ट्युब्स् रेसिस्टिङ अल नोन् ट्रिटमेन्ट्स । ब्राउनले पुस्तकमा यो बिमारले एकाएक मानवीय क्षति गर्ने, १० वर्षपछि पुनः देखा पर्ने र त्यसपछि पूर्णरूपमा हराएर जाने पनि लेखेकी छन् ।

ब्राउनले सन् २०२० मै कर्णपट (इअरड्रम) सिन्थेटिक बन्ने, २०२५ मा कोषहरूको क्लोन गर्ने, २०२५ मा शुरू हुने विश्वभरका धर्महरूको साझ्ेदारीले २०४० सम्ममा राम्रा प्रतिफल दिने, २०२५ मा उत्तर र दक्षिण अमेरिकाको पूर्वी भागमा अप्रत्याशित रूपमा पानी पर्ने, २०२५–२०३० मा फ्लोरिडा र सुदूर पूर्वमा ज्वारभाटाबाट सुनामी आउने आदि अड्कल गरेकी छन् ।

आख्यान लेखनमा अमेरिकामा ठूलो ख्याति कमाएकी ब्राउनको २०१३ मा निधन भइसकेको छ । पुस्तकका सहलेखक भने लिण्डसे ह्यारिसन हुन् ।

कोरोना भाइरस फैलिएसँगै अर्को पुस्तकको पनि चर्चा चल्यो– द आइज अफ डार्कनेश । १९८१ मा डिन कुत्ज लिखित उपन्यासको पृष्ठ ३५३ मा ‘वुहान ४००’ भाइरसको उल्लेख गरिएको छ । वुहान त्यही चिनियाँ शहरको नाम हो, जहाँबाट कोभिड–१९ संक्रमण शुरू भएको बताइएको छ । उपन्यासमा यो भाइरसलाई इबोलाभन्दा खतरनाक र संक्रमण भइहाले कोही नबाँच्ने लेखिएको छ ।

कोरोनाको महामारीसँगै सामाजिक सञ्जालमा द सिम्पन्स कार्टुन उल्लेख गर्नेहरू पनि बढेका छन् । सन् १९९३ मा प्रसारित कार्टुनको यो शृङ्खलामा ओसाका फ्लु नामक बिमारको चित्रण छ । यो शुरूमा कसैलाई हुलाक मार्फत पठाइएको र पछि सर्वत्र फैलिएको देखाइन्छ ।

यी आख्यानभन्दा सन् २०११ मा प्रदर्शित चलचित्र कन्टेजन को कथा कोभिड–१९ सँग धेरै हदसम्म मिल्दो देखिन्छ । समाचारहरूले यो चलचित्रकी पात्रलाई हङकङमा पूर्वप्रेमीसँगको यौनसम्पर्कबाट एमईभी १ भाइरस सरेको र यसबाट उनको र छोराको मृत्यु भएको देखाइएको छ । यो संक्रमण सुँगुर र चमेराबाट सरेको अनुसन्धानबाट पत्ता लाग्छ । नौ वर्षअघि सामान्य व्यापार गरेको यो चलचित्र अहिले महामारीसँगै खोजिने क्रम बढेको छ ।

आफ्नो कल्पनाशीलताका कारण कथाको रचना गरे पनि कोभिड–१९ को यो संक्रमण विज्ञानमा आधारित भविष्यवाणी भने होइन, त्यसैले यी स्वैरकल्पनाका पछाडि नलागी सरकार, चिकित्सक, स्वास्थ्य निकायकै सुझाव मान्नु यतिवेला उपयुक्त हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस