सोमबार नेप्सेमा झिनो सुधार, कारोबार रकम घट्यो
आइतबार भारी अंकले ओरालो लागेको शेयर बजार परिसूचक नेप्से सोमबार स्थिरप्रायः देखिएको छ । सोमबार नेप्से परिसूचकमा ३.३५ अंकको झिनो सुधार आएर १ हजार ३१६ विन्दुमा पुगेको छ ।
सोमबार होटल, उत्पादनमूलक र म्युचुअल फण्डबाहेक अरु सबै समूहका सूचक सामान्य अंकले बढेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह १.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह १.९४ प्रतिशतले ओरालो लागेको छ ।
५ घण्टा शेयर खरिदविक्री भएपनि बजारमा कारोबार रकम घटेको छ । सोमबार १८० कम्पनीका रु. १ अर्ब ६१ करोड ५३ लाख मूल्यका ४१ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् ।
पछिल्ला दिनमा कारोबार रकम रु. २ अर्बभन्दा माथि हुने गरेको थियो । कारोबार रकम घट्नुले लगानीकर्ताहरु शिथिल भएको देखाउँछ ।
सोमबारको कारोबारमा सबैभन्दा धेरै सिभिल लघुवित्तका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन् भने युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् । सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर रु. १५ करोड ४० लाख बराबरको शेयर किनबेच भएको छ ।