अन्तर्वार्ता/विचार आइतबार, चैत २, २०७६

‘कालोबजारी गर्नेले सन्त्रास फैलाए’

हिमालखबर

‘कालोबजारी गर्नेले सन्त्रास फैलाए’
ध्रुव घिमिरे, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख

कोरोना भाइरस महामारीका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख ध्रुव घिमिरे भन्छन्, “कर्मचारीको अभावमा सोचेजति बजार अनुगमन हुनसकेको छैन।”

दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था सहज बनाउन सरकारले के गर्दैछ ?

सरकार अहिले समन्वय गरिरहेको छ । दैनिकजसो आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, ग्याँस बिक्रेता संघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका व्यावसायिक संघसंस्थासँग बैठक गरेर आपूर्ति व्यवस्थालाई सहज बनाउन छलफल गरिरहेका छौं ।

तर पनि किन ग्याँसको अभाव भइरहेको छ त ?

बजारमा ग्याँस नपाएको गुनासो सुनेपछि सरोकारवालाहरूलाई बोलाएर छलफल गरेका छौं । ग्याँस नपाइनुपर्ने कुनै कारण छैन । उपभोग्य वस्तुहरू पर्याप्त मात्रामा मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था छैन ।

त्यसो भए अनुगमन किन प्रभावकारी बन्न सकिरहेको छैन त ?

कर्मचारी अभावका कारण अपेक्षा गरिएबमोजिम बजार अनुगमन हुन नसकेको हो । आवश्यक कर्मचारी उपलब्ध गराइदिन सामान्य प्रशासन मन्त्रालयसामु माग गरेका छौं ।

सरकारले आत्तिनुपर्ने अवस्था छैन भनिरहँदा पनि आमजनता विश्वस्त हुन सकिरहेका छैनन्, किन ?

आममानिसको मनोविज्ञान र सामान नपाइने हल्ला फैलाएर कालोबजारी गर्न चाहने बिचौलियाहरूले सन्त्रास फैलाइरहेका छन् । कालोबजारी गर्नेहरूको पहिचान गरी कारबाही गर्न सरकार दृढ छ । विभिन्न ठाउँमा कारबाही पनि गरिरहेका छौं ।

आपूर्ति व्यवस्था सहज बनाउन सरकारको थप तयारी के छ ?

मास्क र सेनिटाइजरको आयात बढाउन भन्सार छूट गरिदिन अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं । परिणाम देखिने गरी तयारी गरिरहेकाले त्यसको प्रभाव सबैले महसूस गर्न पाउने छन् । सीधै गुनासो राख्न सक्ने व्यवस्था पनि मिलाएका छौं ।

 

प्रतिकृया दिनुहोस