कला/साहित्य शुक्रबार, फागुन ३०, २०७६

'प्रेरणादायी महिलाहरू' पुस्तक सार्वजनिक

हिमालखबर

'प्रेरणादायी महिलाहरू' पुस्तक सार्वजनिक

विभिन्न क्षेत्रका संघर्षशील महिलाहरुको जीवनी समेटिएको 'प्रेरणादायी महिलाहरू' पुस्तक विमोचन गरिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य झलनाथ खनालले पुस्तकको विमोचन गरे।

पुस्तक विमोचनपछि बोल्दै खनालले विभिन्न क्षेत्रमा महिलाहरुले दिएको योगदानबारे थाहा पाउनका लागि पुस्तक महत्वपूर्ण हुने बताए।

उनले संविधान र कानूनमा महिलाको हक अधिकारको कुरा लेखिए पनि व्यवहारतः समानता आउन अझै संघर्ष र आन्दोलनको आवश्यकता रहेको बताए।

कार्यक्रममा केन्द्रकी अध्यक्ष एवं नेकपाको स्थायी समिति सदस्य अध्यक्ष अष्ट लक्ष्मी शाक्यले वर्षौं संघर्ष गरेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका महिलाहरुलााई बिर्सिंदै जाने भएकाले केन्द्रले वर्षेनि पुस्तक मार्फत त्यस्ता व्यक्तित्वहरु खोज्ने गरेको बताइन्।

मोतीदेवी स्मृति केन्द्रले हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पुस्तक प्रकाशन गर्ने गरेको छ ।

केन्द्रद्वारा प्रकाशित पुस्तकको यो छैंटौं संस्करणमा १८ जना महिलाहरुको बारेमा १८ जना लेखकहरुले लेखेका छन् । 

पुस्तक विमोचन कार्यक्रममा नेकपाका नेताहरू अमृत बोहोरा, शान्ता मानवी, सबिता अधिकारी, संघीय र प्रदेश सांसदहरु, काठमाडौंका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।

पुस्तकमा राजनीतिज्ञहरु मैयाँदेवी श्रेष्ठ, संघीय सांसद गोमा देवकोटा, कम्युनिष्ट पार्टीकी सेल्टरदाताहरु बालकुमारी थापा र पद्मा मानन्धर, लीलादेवी मण्डल, सुदूरपश्चिममा गोरु जोत्ने गंगुदेवी खडायत, सुदूरपश्चिमको पहिलो महिला सहिद भगवती चाैधरी, उद्यमी पद्मासना शाक्य, कमला श्रेष्ठ, नृत्य विज्ञ बेटी बज्राचार्य, सर्वोच्च अदालतकी पूर्व न्यायाधीश गौरी ढकाल, बेलायतको विश्वविद्यालयमा जीवनी पढाइ हुँदै आएकी सोलुखुम्बुकी सामाजिक अभियन्ता पेमा शेर्पालगायतको बारेमा लेखिएको छ।

पुस्तकमा जीवनी लेखिएका महिलाहरु राजनीतिक, सामाजिक अभियन्ता तथा उद्यमशिलताको क्षेत्रमा योगदान दिएका कम्तीमा ६० वर्षको हुनुपर्ने व्यवस्था गरिएको नाम छनौट समितिले जनाएको छ । तर निधन भइसकेकाहरुको हकमा भने उमेरहद लागू गरिएको छैन ।

१५० रुपैयाँ मूल्य राखिएको पुस्तकको सम्पादनमण्डलमा गरिमा शाह, लक्ष्मी बस्नेत र ममता गिरी रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस