रुगानीलाई कोरोनाभाइरसको संक्रमण : रोनाल्डो र राम्से क्वारेन्टाइनमा
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण इटालीका फुटबल खेलाडी डानिएले रुगानीमा पनि देखिएको छ ।
युभेन्टसका खेलाडी रुगानीलाई कोरोनाभाइरसको पुष्टि भएसँगै चर्चित खेलाडीहरू क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय समाचार संस्था दसनको अनलाइन संस्करणले जनाएको छ ।
रुगानीसँग नियमित सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई क्वारेन्टाइनमा राखिएको खबर सार्वजनिक भएका छन् ।
यो खबरलाई पुष्टि गर्दै रुगानीले आफ्नो धारणा समेत सार्वजनिक गरेका छन् । उनले आफ्ना शुभचिन्तकलाई ठीक भइसकेको भन्दै चिन्ता नलिन र फेरि खेलमा फर्किने विश्वास दिन चाहेको बताएका छन् ।
"मेरो आग्रह छ, सबैले चिकित्सकीय नियम मानिदिनु होला । कोरोनाभाइरसले कुनै भेदभाव गर्दैन।"
कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि यूरोपमा हुने प्राय: ठूला खेलहरू स्थगित गरिएका छन् ।
यस अघि हलिउड अभिनेता ६३ वर्षीय टम ह्यांक्स दम्पतीलाई पनि कोरोनाभाइरसको संक्रमण देखापरेपछि अस्ट्रेलियामा उनीहरूको उपचार भइरहेको खबर सार्वजनिक भएको थियो।