अनसनरत डा.केसीको स्वास्थ्य बिग्रदै, भोली प्रदर्शन गरिने
अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । सोलिडारिटी फर डा.केसी अलायन्स ७ मंसिरमा प्रेस विज्ञप्ती प्रकाशित गरि स्वास्थ्य विग्रदै गएको जनाएको छ ।
डा.केसी अनसन बसेको दश दिन पुगेको छ । उनका मागका सम्बन्धमा सरकारले वास्ता नगरेको अलायन्सले जनाएको छ । अलायन्सका संयोजक डा.जीवन क्षेत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “आइओएममा वरिष्ठताका आधारमा डिनको नियुक्ति गर्नेलगायतका मागहरु राखेर अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य विग्रंदै गर्दा राज्यले अझै समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।”
अनसनरत डा.केसीको स्वास्थ्य विग्रदै जादा पनि सरकारले वास्ता नगरेपछि अलायन्सले दवावमूलक कार्यक्रम गर्ने भएको छ । वरिष्ठताका आधारमा नभइ हचुवाका भरमा त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा.केपी सिंहलाई डिन बनाएको आरोप लगाउदै उपकुलपति खनियाको बर्खास्त गर्नु पर्ने माग गरेको छ ।
अलायन्सले ८ मंसिर दिउसो १२ बजे त्रिवि उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गर्ने भएको छ । माग पुरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने विज्ञप्तीमा जनाएको छ ।
प्रेस विज्ञप्ती
आइओएममा वरिष्ठताका आधारमा डिनको नियुक्ति गर्नेलगायतका मागहरु राखेर अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य विग्रंदै गर्दा राज्यले अझै समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।
खास गरी आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार छन् । पहिले ९ महिनासम्म पद खाली राखेर नियुक्ति गर्ने बेला वरिष्ठता नभई हचुवाका भरमा नियुक्ति गरिएकाले अहिले समस्या बल्झेको हो । आफैं बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहँदा पदमा ल्याइएका त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा केपी सिंहलाई डिन बनाउँदा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको समेत देखिन्छ । त्यसैले अब आइओएममा शंकास्पद तरिकाले बनाइएका डिन मात्र हैन उपकुलपछि तीर्थ खनियाँलाई समेत बर्खास्त गर्नुपर्ने अवस्था आएको छ ।
अहिले अनशनको दशौं दिनमा समेत समस्या समाधानको पहल कतैबाट नभएपछि भोलि मंसीर ८ गते १२ बजे त्रिवि उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गरिने भएको छ । त्यसमा आइओएमका विद्यार्थी, रेजिडेन्टलगायत अन्य नागरिकहरुको उपस्थिति रहनेछ । सो कार्यक्रममा सहभागी हुन सबै सचेत नागरिकहरुलाई डा केसी अलायन्स हार्दिक अनुरोध गर्दछ र पत्रकार साथीहरुलाई यसै इमेलमार्फत निम्ता गरिएको छ ।
भोलिको घेराउपछि पनि समस्या समाधान भएन भने अझ सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याइनेछन् ।
डा जीवन क्षेत्री
संयोजक,
सोलिडारिटी फर डा केसी अलायन्स