कला/साहित्य सोमबार, फागुन २६, २०७६

‘शब्द संगम–२०७६’ मा मुकारुङ र काङमाङ

हिमालखबर

‘शब्द संगम–२०७६’ मा मुकारुङ र काङमाङ

‘म त्यही गर्विलो माटोमा
उभिएको छु
जहाँ सुनाखरी र राताम्यै लालिगुराँसले
स्वागत गरिरहेछन्
मेरो शिरमाथि साङखामचुली
सिलिचुङ, ट्याम्के अनि
चोमोलोङमा मुस्कुराईरहेछन्
हो म त्यहीँ उभिएको छु
गर्वले छाती फुलाएर निश्चिन्त भई अडिएको छु
त्यही हतुवागढीको आलिङ्गनभरि
खेलिरहेको छु ।’

कवि अल्पभाषी निरुले ‘म त्यहीं छु’ शीर्षकको कविता वाचन गर्दै भोजपुरको हतुवागढी पात्लेपानीमा आयोजित शब्द संगम–२०७६ को ढोका खोलिन् । कोरोना भाइरसको त्रास, चिसो मौसम, भुइँकुहिरोले छपक्कै छोपेको पात्लेपानी अनि वजनदार व्यक्तित्वहरुको उपस्थिति माझ कार्यक्रम शुरु भयो ।

पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढी–८, भोजपुरले आयोजना गरेको कार्यक्रममा कविता सुन्न र सुनाउन टाढा–टाढाबाट आएका स्रष्टा तथा सर्जकहरुको जमघटममा युद्ध कवि काङमाङ नरेशले कविता वाचन गरे । सो एकल वाचनमा नरेशले नौ वटा कविता सुनाए । ‘आँशु जस्तै छ युद्ध कविता’ सुनाउँदा हल चकमन्न भयो ।

‘आँखाबाट अविरल नदी बगाउँदै
आफ्ना थर्थराएका हातले
फूलका माला लगाइदिँदै
उनी भन्छिन्–
जस्तो जाँदै हुनुहुन्छ
त्यस्तै फर्किनू युद्धबाट
थुप्रै छन् भन्नुपर्ने
तर, निस्कँदैनन् शब्दहरू
फुट्दैन बोली
निस्कन्छु क्वाटरबाहिर
र, ड्याम्म बन्द गर्छु बिदाइको ढोका ।’

यो कविता सुनाइरहँदा स्वयम् कवि काङमाङ भावुक बने । त्यहाँ उपस्थित लाहुरे जीवन बिताएकाहरुले ती कविताहरुलाई आफ्नै कविता सम्झेर सुने ।

नरेशलाई कवि अल्पभाषी निरु, राजन इशारा र अरुण आकाशले कविता वाचनमा सघाए । साथमा स्थानीय कृपालसिंह राई, अरुण आकाश, नमुना राई, पूर्ण सन्ध्या समाधी, नमुना राई,चन्द्र राई तारा, रुद्र राई, स्वस्तिका राई लगायतले रचना सुनाउँदै हतुवागढीमा कवि कलाकारको उपस्थित छ भन्ने संकेत गरे ।

काङमाङ नरेशका कवितामाथि कलाकार तथा कार्टुनिष्ट ओम डिसिआरले गरेको पेन्टिङ प्रर्दशन समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पहिचान पुरस्कार विजेता तथा मदन पुरस्कार विजेता राजन मुकारुङले हामी एकल भाषा र एकल साहित्यलाई अंगालिरहँदा यहाँका सीमान्तकृत, दलित, किनारीकृत समुदायलाई छायामा पारिएको र सोही कारण उनीहरुको कला, साहित्य र संस्कृति माथि उठ्न नसकेको बताए । उनले थपे ‘नेपाल भित्रका कैयौं भाषा साहित्यलाई ओझेलमा पारेर एकल साहित्यलाई नेपाली साहित्य भन्नुपर्ने अवस्था छ ।’
उनको भनाई अनुसार, विभिन्न समुदायको भाषा र संस्कृतिलाई साहित्यमा अटायौ भने नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा जान्छ ।’

कार्यक्रममा ध्यानकुमार राई, सुदन राई, सुनिता किराती, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष मैया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विश्वजित राईले राखेका थिए भने कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव अर्जुन राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस