बेटिससँग पराजित हुँदै मड्रिडले गुमायो शीर्ष स्थान उक्लने अवसर
स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । बेटिसको घरेलु मैदानमा मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो ।
बेटिसले पहिलो हाफको ४०औं मिनेटमा अग्रता लिएको थियो। सिड्नेइले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा मड्रिडका लागि करिम बेञ्जिमाले गोल गरे। बेञ्जिमाको गोलले खेल बराबरीमा आयो।
तर, दोस्रो हाफको ८२औं मिनेटमा बेटिसका लागि क्रिश्टियन टेलोले गोल गर्दै अग्रता दिलाए । मड्रिडले गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो।
पराजयसँगै मड्रिडले शीर्ष स्थानमा उक्ने अवसर गुमाएको छ। मड्रिडले २७ खेलबाट ५६ अंक जोडेको छ भने समान खेलबाट बार्सिलोनाले ५८ अंक जोडेको छ।