अन्तर्वार्ता/विचार शनिबार, फागुन २४, २०७६

‘गाँजा खुले देश धनी हुन्छ’

मुकेश पोखरेल

‘गाँजा खुले देश धनी हुन्छ’

गाँजा उत्पादन, प्रशोधन, बिक्रीवितरण र प्रयोग नियमन गर्न संघीय संसद्को प्रतिनिधिसभामा विधेयक दर्ता गराएका संसद्को कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य एवं पूर्व कानून मन्त्री शेरबहादुर तामाङ भन्छन्, “गाँजाको लागि बजार खोज्नुपर्दैन।”

प्रतिबन्धित गाँजाखेती किन खुला गर्नुपर्ने ?

गाँजा नेपालमा पाइने औषधीय गुणयुक्त वनस्पति हो । विश्वबजारमा यसको ठूलो माग छ । एक अध्ययनबाट गाँजा उत्पादनबाट देशले नसोचेको फाइदा लिन सक्ने निष्कर्ष निस्किएपछि कानूनी मान्यता दिने उद्देश्यले विधेयक दर्ता गरिएको हो ।

कहिलेदेखि यस्तो अध्ययन गरिरहनुभएको थियो ?

दुई वर्षअघिदेखि विज्ञको सहयोग लिएर अध्ययन गरिरहेका थियौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार, उत्पादन, कानून आदिले के भन्छ ? कसरी नियमन गर्ने भन्ने बारेमा पनि अध्ययन गर्‍यौं । संयुक्त राष्ट्रसंघले तयार गरेको लागूपदार्थ नियन्त्रण सम्बन्धी कानूनले परम्परागत रुपमा उत्पादन तथा उपयोग गर्ने गाँजा जस्ता वनस्पतिलाई प्रतिबन्धित गरेको पाइएन ।

४० भन्दा बढी मुलुकले कानून बनाएर गाँजा बिक्री–वितरण खुला गरिसकेका रहेछन् । जनमत बुझ्दा राम्रै प्रतिक्रिया आएकाले पनि हामी अघि बढेका हौं ।

नेपालमा गाँजा प्रतिबन्धित हुनुको कारण चाहिं के हो ?
विश्वका धेरै मानिस युद्धबाट वाक्कदिक्क भएर शान्ति चाहन्थे । शक्ति राष्ट्रहरु युवालाई युद्धमा लगाइरहेका थिए तर युद्ध नचाहने युवाको ठूलो समूह थियो । त्यो समूह नेपाल पनि आयो । र, आनन्द र मनोरञ्जन प्राप्त गर्न गाँजा सेवन गर्न थाल्यो ।

गाँजाको अधिक सेवनले यो लागूऔषध नै बन्यो । विकृति पनि फैलियो । त्यसैले प्रतिबन्ध लगाइएको बुझिन्छ ।

अन्तर्राष्ट्रियस्तरमा गाँजाको व्यापार र खेतीको अवस्था कस्तो रहेछ ?

क्यानाडाले मनोरञ्जनका लागि गाँजा खुला गरेको छ । अमेरिकाका ३५ वटा राज्यमा पनि गाँजा खुला छ । यूरोपका धेरै देशले प्रतिबन्ध नै लगाएनन् । थाइल्याण्डले कानून बनाएर खुला गर्न लागेको छ । अष्ट्रेलिया, न्यूजिल्याण्डमा उत्पादन भइरहेको छ । भारतको संघीय कानूनले प्रतिबन्ध लगाए पनि नियन्त्रित रुपमा गाँजाखेती गरिंदै आएको रहेछ ।

गाँजाखेतीबाट के–कस्ता फाइदा देख्नुहुन्छ ?

औषधि बनाउने कम्पनीहरुले क्यान्सर र छारेरोगको औषधि बनाउन खोजी–खोजी गाँजा खरीद गर्ने भएकाले राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ ।

गाँजाबाट वार्षिक १०० लिटर टीएचसी निकालेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने हो भने हामीले सञ्चालन गरिरहेका सबै राष्ट्रिय गौरवका आयोजनाहरुलाई चाहिने पैसा खोज्नुपर्दैन । गाँजा खेती खुला गर्दा देश धनी हुन्छ ।

प्रतिकृया दिनुहोस