जसरी बढेको थियो उसरी नै घट्यो नेप्से
शेयर बजार परिसूचक (नेप्से) मा बुधबार पनि पहिरो गएको छ । बुधबार नेप्से परिसूचक ६८.४७ अंकले ओरालो झरेर १ हजार ४४१ अंकमा आइपुगेको छ ।
यो साताको आइतबार र सोमबार गरी दुई दिनमै बजार १ सय ३७ अंकले घटेको नेप्सेमा मंगलबार १४.३७ अंकको सुधार आएको थियो । बुधबार फेरि बजार ओरालो झरेको हो । कारोबार शुरु हुनेबित्तिकै ओरालो लाग्न थालेपछि आत्तिएका लगानीकर्ताले विक्री चाप बढाएका थिए ।
गत साता करीब दुई सय अंकले बजार उकालो चढेको थियो । ८ फागुनमा १ हजार ४३४ अंकमा रहेको नेप्से १ हजार ६३२ अंकको उचाइ छोएर करीब तीन साता अघिकै विन्दु छेउछाउ आइपुगेको छ ।
बुधबार १ सय ७४ कम्पनीका रु. २ अर्ब ९० करोड बराबरका शेयर किनबेच भएका छन् । सबै समूह घटेकोमा सबैभन्दा धेरै लघुवित्त समूह ६.१६ प्रतिशत तथा ब्यांकिङ समूह ४.४५ प्रतिशत घटेका छन् । बुधबारको कारोबारमा सबैभन्दा धेरै लघुवित्त कम्पनीहरुका लगानीकर्ताले गुमाएका छन् । बजारमा पहिरो जाँदा पनि ९ वटा कम्पनीका लगानीकर्ताले भने कमाएका छन् ।
सोमबार नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त संस्थाहरुको २० प्रतिशतभन्दा बढी नाफामा घुमाउरो अंकुश लगाइदिएपछि अधिकांश लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । मंगलबार पनि अधिकांश लघुवित्त कम्पनीहरुको शेयर मूल्य घटेको थियो ।