नेप्से १४ अंकले बढ्यो
आइतबार र सोमबार डरलाग्दो गरी घटेको शेयर बजार परिसूचक (नेप्से) मंगलबार भने उकालो लागेको छ । तीव्र उतारचढाव हुँदै नेप्सेमा मंगलबार १४.३७ अंकको सुधार आएको हो । योसँगै नेप्से परिसूचक १ हजार ५०९ अंकमा पुगेको छ ।
गत साता करीब दुई सय अंकले उकालो चढेको नेप्से परिसूचक आइतबार ४१ अंकले घटेको थियो । सोमबार त बजारमा पहिरो नै गएको थियो । सोमबार लगानीकर्ता आत्तिएर विक्रीको चाप परेपछि ६ प्रतिशत ओरालो लाग्दै बजार बन्द भएको थियो । आइत र सोमबार गरी दुई दिनमैं बजार १ सय ३७ अंकले घटेको थियो ।
मंगलबार बजारमा १८१ कम्पनीका रु. ३ अर्ब ८५ करोड बराबरका शेयरको कारोबार भएको छ । मंगलबार व्यापार, अन्य र लघुवित्त समूहका उपसूचक ओरालो झरेकाका छन् । सोमबार नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त संस्थाहरुको २० प्रतिशतभन्दा बढी नाफामा घुमाउरो अंकुश लगाइदिएपछि अधिकांश लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएको हो । मंगलबार लघुवित्त समूह ४.६१ प्रतिशतले घटेको छ ।
यद्यपि, ब्यांकिङ, जीवन र निर्जीवन बीमा, विकास ब्यांक, फाइनान्स सहितका उपसूचक बढेका छन् । मंगलबारको कारोबारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशत कमाएका छन् भने सबैभन्दा धेरै स्वदेशी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।
कारोबार खुल्नेबित्तिकै ओरालो लाग्न थालेको बजारमा शुरुआतमा ५२ अंकको गिरावट आएको थियो । पछि बजार उतारचढावपछि उकालो चढ्दै १४ अंकले बढेर बजार बन्द भएको थियो ।