कला/साहित्य सोमबार, फागुन १९, २०७६

साहित्यकारहरूलाई सम्मान गर्दै बकैया साहित्य महोत्सव सम्पन्न

हिमालखबर

साहित्यकारहरूलाई सम्मान गर्दै बकैया साहित्य महोत्सव सम्पन्न

मकवानपुरको बकैया गाउँपालिकामा झरना साहित्य परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । दुईदिने कार्यक्रमअन्तर्गत शनिबार स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचन आदि गरेर साहित्य महोत्सव सम्पन्न गरिएको हो।

कार्यक्रमको पहिलो दिन छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको थियो।

शिक्षणको सहजीकरण प्रगतिशील लेखक संघ मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यले गरेका थिए।

एकैसाथ चलेको अर्को सत्रमा बकैया गाउँपालिकाका १० विद्यालयका ५ दर्जनभन्दा बढी विद्यार्थीहरूका लागि पठन संस्कृति विकास तथा भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको थियो। यस सत्रको सहजीकरण ’बाल उदय’ मासिकका सम्पादक नरेन्द्रकुमार नगरकोटी, झरनाका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेलले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रमको दोस्रो दिन स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचन भएका थिए।

सम्मान कार्यक्रम अन्तरगत साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउने ६ जनालाई विभिन्न सम्मानहरू प्रदान गरिएको छ। साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र विनोदविक्रम के.सी.लाई खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ प्रदान गरिएको छ। त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ प्रदान गरिएको छ। यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ बाट व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई सम्मान गरिएको छ।

त्यसैगरी यसवर्षबाट सुरु भएको ’झरना बकैया पत्रकार सम्मान(२०७६’ मकवानपुरमा लामो समयदेखि क्रियाशील पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको कुरा आयोजक संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए।

अन्तरक्रिया कार्यक्रमका दुईवटा सेसन अन्तर्गत छुट्टाछुट्टै बहसहरू भएका थिए। जसअनुसार पहिलो चरणमा झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा ’कला साहित्यको विकासमा स्थानीय तहको भूमिका’ विषयमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र सामाजिक विकासका अभियन्ता अर्पण पराजुलीले बहस गरेका थिए।

बहसमा सहभागीहरूले समाज विकासको लागि भौतिक विकास र चेतनाको विकास सँगसँगै अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए।

अर्को चरणको अन्तरक्रिया कार्यक्रम झरनाका सचिव मसान उपासकको सहजीकरणमा’ नेपाली साहित्यमा मकवानपुर’ विषयमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, समालोचक नीरा शर्मा र झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले बहस गरेका थिए। उनीहरूले मकवानपुरे साहित्यले नेपाली साहित्यमा स्थान बढाउँदै गएको तर यो कुरा पर्याप्त भएको भनेर चित्त बुझाउनुपर्ने अवस्था नरहेको बताए।

कार्यक्रममा निमेष निखिल, सुवास खनाल, छवि अनित्य, पुरुषेत्तम आचार्य, शान्तिप्रिय बन्दना, नरेन्द्रकुमार नगरकोटी, स्मीति गिरी, राम उदित लगायत सम्मानित श्रष्टा, अतिथिहरू तथा स्थानीयहरूले आआफ्ना साहित्यिक रचनाहरू वाचन गर्नुका साथै स्थानीय विद्यार्थीहरूले नेपाली, तामाङ र माझी संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस