शेयर बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द
शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत ओरालो लागेपछि सोमबार कारोबार बन्द भएको छ । ११ बजे बजार खुल्नेबित्तिकै ओरालो लाग्न शुरु गरेको नेप्से परिसूचक १२ बजेर ४६ मिनेटमैं ५ प्रतिशतले ओरालो लागेपछि ४० मिनेटका लागि बजार बन्द (सर्किट ब्रेकर) गरिएको थियो ।
फेरि बजार ओरालो लाग्ने क्रम नथामिएपछि १ बजेर २९ मिनेटमा कारोबार स्थगित गरिएको थियो । नेप्सेमा ६ प्रतिशतको गिरावट आएपछि उक्त दिनका लागि कारोबार बन्द गरिन्छ ।
गत साता झ्ण्डै २०० अंक बढेको नेप्से परिसूचक आइतबार ४१ अंकले घटेको थियो । सोमबार रु. २ अर्ब १५ करोडको कारोबार भएको बजारमा विक्री चाप अत्यधिक देखिएको थियो । सोमबार सबै समूहका उपसूचक ओरालो लागेका छन् ।
सबैभन्दा बढी जीवन बीमा र निर्जीवन बीमा समूह क्रमशः ७.४५ र ७.४६ प्रतिशतले घटेका थिए । सोमबारको कारोबार तीन कम्पनी एनआईसी एशिया ब्यालेन्स फण्ड, खानीखोला जलविद्युत तथा श्री इन्भेष्टमेन्ट फाइनान्सबाहेक सबै कारोबार भएका कम्पनीका लगानीकर्ताले नोक्सान बेहोरे ।