समाचार शुक्रबार, फागुन १६, २०७६

पर्सामा छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, दुई बेपत्ता

हिमालखबर

पर्सामा छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, दुई बेपत्ता

पर्सामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई नाबालक छन्।

भारत बिहार रतनपुरी घर भई वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह, विन्दवासिनी गाउँपालिका–४ झौवा बस्ने आस महमद आलमका ३ वर्षीय छोरा खुसिद आलम र जिराभवानी गाउँपालिका–१ का ४२ वर्षीय बोधा उराव धाँगडको मृत्यु भएको हो।

प्रशान्त वीरगञ्ज–१६ पशुपतिनगर छेउ दशगजा स्थित सिर्सिया नदीबाट १६ फागुनमा बिहान मृत भेटिएका थिए । बालकको शव देखेपछि स्थानीयले नदीको डिलमा निकालेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

एकै परिवारका तीन बच्चा एकै साथ हराएको उजुरी प्रहरीकोमा आएको थियो । प्रशान्तसँगै हराएका ५ वर्षीय अमरद्विप साह र ३ वर्षीया आँसु कुमारी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।

प्रहरीले बारा गढीमाई नजिकै मलानी माइतीघर भएकी रमोदकी श्रीमती उर्मिलादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

१६ फागुन बिहान साढे १० बजे विन्दवासिनी गाउँपालिका–४ झौवा चौकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खुसिद आलमको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

पश्चिम चम्पारण भारत बिहार बस्ने १९ वर्षीय राजकुमार दासले चलाएको ना६५प ६४२९ नं.को मोटरसाइकलले आलमलाई ठक्कर दिएको थियो । बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलको ठक्करबाट घाइते बालक आलमलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

उपचारकै क्रममा बालकको पौने १ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चालक दास प्रहरी नियन्त्रणमा छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–३ टोल देकुलीबाट १५ फागुन बेलुकी जन्तीसँगै गएका उराव १६ फागुन बिहान मृत भेटिएका छन् । राति जोकर बनेर नाचेका उनी सकुशल अवस्थामा राति खाना खाएर सुतेका थिए । जन्ती घर फर्किने क्रममा जगाउन जाँदा उनको मृत्यु भइसकेको स्थानीयले बताएका छन् ।

मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए । 

प्रतिकृया दिनुहोस