समाचार शुक्रबार, फागुन १६, २०७६

सेनाका पूर्व जर्नेलकाे घर ताेडफाेड गरेकाे भन्दै ४ महिला विरुद्ध मुद्दा

हिमालखबर

सेनाका पूर्व जर्नेलकाे घर  ताेडफाेड गरेकाे भन्दै  ४ महिला विरुद्ध मुद्दा

सेनाका पूर्व सहायक रथी हेम खत्रीको घरमा तोडफोड गरेको भन्दै प्रहरीले चारजना महिला विरुद्ध अभद्र व्यवहार मुद्दामा कारबाही थालेको छ। उनीहरुलाई हिरासतमा लिएर कारबाही थालेको प्रहरीले जनाएको छ।

प्रहरीले दोलखा चरिकोटकी गोमा केसी, बारा निजगढकी माला साह, मोरङ उर्लाबारीकी रुपा घिसिङ र स्थानीय शोभा खड्का विरुद्ध अभद्र ब्यवहार मुद्दामा कारबाही थालेको हो।

परिसरका एसपी दुर्गा सिंहका अनुसार प्रहरीले लाठी हानेको भिडियोमा देखिएकी महिला सहित अन्य दुईलाई समेत नियन्त्रणमा लिए पनि पछि छाडिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा अनधिकृत प्रवेश गरेर कम्पाउण्ड तथा कोठाभित्र रहेको टेबल, गमला लगायत धनमाल तोडफोड गरेको जनाएको हो। यस्तै ती महिलाले खत्रीकी श्रीमती तथा छोरी समेतलाई जथाभावी व्यवहार गरेको प्रहरीले जनाएको हो।

प्रहरीले यही घटनामा बच्चा काखमा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल विरुद्धको अनुसन्धान समेत जारी राखेको छ।

प्रहरीका अनुसार खत्री र अर्की महिलाबीच लामो समयदेखि विवाद भइरहेको थियो। पीडित महिलाले खत्री आफ्नो श्रीमान भएको र नाता प्रमाणित गरिदिन विभिन्न निकायमा निवेदन गर्दै आएकी छन्।

यसै विषयमा ललितपुर परिसरमा समेत पटकपटक दुई पक्षबीच वार्ता हुँदै आएको छ। घटनाका दिन समेत ती पीडित महिला मानव अधिकारकर्मी र अभियन्ता सहित खत्रीको घरमा प्रवेश गरेकी थिइन्।

खत्रीको घरमा प्रवेश गरेका महिलाहरुले प्रहरी टोली समेतलाई जथाभावी बाेली अभद्र व्यवहार गरी काम कर्तव्य समेतमा बाधा अवरोध गरेपछि सामान्य बल प्रयोग भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस