समाचार शुक्रबार, फागुन १६, २०७६

सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध

हिमालखबर

सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध

सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध पु¥याएका छन् । आयोजनामा अवरोध पुग्दा त्यस क्षेत्रमा उत्पादित विद्युत खेर जाने जोखिम बढेको छ ।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८ को बोझ र ९को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकेको छैन ।

तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोझमा एउटा टावर खडा गर्न दिएको छैन ।

प्रसारण लाइनको रुट सार्नु पर्ने र त्यसो गर्न नसकिएमा मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउन माग गर्दै स्थानीयले झिंगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन् ।

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिएको छ । १०७ वटा टावर खडा गरिएको छ । ३२ किलोमिटर सिंगल सर्किट तार टांगिएको छ । प्रसारण लाइनको निर्माण आगामी वैशाखभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

दोलखाका सिंगटी खोला र तामाकोसी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजको विद्युत् प्रणालीमा प्रवाह गर्न सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण भइरहेको हो । नेपाल विद्युत प्राधिकरणले जारी अवरोध हटाउन गरेको प्रयास सफल हुन सकिरहेको छैन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हटाउन केही दिन अघि पहल गरेका थिए । यही प्रसारण लाइनमा जोडिने २५ मेगावाटको सिंगटी खोला र अन्य केही आयोजनाहरुको निर्माण अन्तिम चरणमा पुगेको कारण तत्काल प्रसारण लाइन बनाउन नसके प्राधिकरणले ती परियोजनालाई जरिवाना तिर्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस