समाचार शुक्रबार, फागुन १६, २०७६

बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि अनुसन्धान थालियाे

हिमालखबर

बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि अनुसन्धान थालियाे

बच्चा काखमा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल विरुद्ध महानगरीय प्रहरीले अनुसन्धान थालेको छ।

सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा छिरेका महिलाहरूको समूहलाई बाहिर निकाल्ने क्रममा निरीक्षक पौडेलले ती महिलालाई लाठी हानेका थिए।

सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको निर्देशनमा सचिवालयले आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई भिडियो सहित जानकारी गराएको थियो।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले ललितपुर परिसरलाई घटनाको अनुसन्धान र दोषी उपर कारबाहीका लागि निर्देशन दिएको बताए। उनले एसएसपी टेकप्रसाद राईलाई अनुसन्धान र कारबाहीको जिम्मेवारी दिएको बताए।

प्रहरीका अनुसार खत्री र अर्की महिलाबीच लामो समयदेखि विवाद भइरहेको थियो। पीडित महिलाले खत्री आफ्नो श्रीमान भएको र नाता प्रमाणित गरिदिन विभिन्न निकायमा निवेदन गर्दै आएकी छन्।

यसै विषयमा ललितपुर परिसरमा समेत पटकपटक दुई पक्षबीच वार्ता हुँदै आएको छ। घटनाका दिन समेत ती पीडित महिला मानव अधिकारकर्मी र अभियन्ता सहित खत्रीको घरमा प्रवेश गरेकी थिइन्।

प्रहरीले खत्रीको घरमा तोडफोड भएपछि बल प्रयोग गरेको दाबी गरेको छ।

प्रतिकृया दिनुहोस