संचालनमा आएको दुई हप्तामै श्रीराम सुगर मिल बन्द
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड संचालनमा आएको दुई हप्तामै बन्द भएको छ। उखु किसानले उद्योगलाई पर्याप्त उखु पुर्याउन नसकेपछि उद्योग दुई हप्तामै बन्द भएको हो ।
२०५१ सालदेखि क्रसिङ थालेको चिनी मिलले अढाई दशकभन्दा लामो समयावधिमा सबैभन्दा कम उखु पाएको यसै वर्ष हो । गत वर्ष पनि १४ लाख क्विन्टल भन्दा बढी उखु क्रसिङ गरेको चिनी मिलले चालु सिजनमा एउटा सख्खर उद्योगभन्दा पनि कम उखु पाएको हो ।
चिनी मिललाई किसानले उखु बेच्ने तर किसानलाई चिनी मिलले समयमा पैसा भुक्तानी नगर्दा चालु सिजनमा उद्योगलाई किसानले नपत्याएको देखिएको हो । चालु सिजनमा उद्योगले ६७ हजार ६७२ क्विन्टल उखु क्रसिङ गरेको छ ।
गत २७ माघदेखि उद्योग संचालनमा आएको थियो । उखुको अभावमा बन्द हुँदै र संचालन हुँदै आएको उद्योग भने दुई हप्तामा बन्द भएको छ ।
किसानले पहिलेदेखि नै समयमा भुक्तानी नपाएको र चालु सिजनमा पनि भुक्तानी नपाउने हो कि भन्ने डरले उखु नदिएको उखु उत्पादक संघ रौतहटका सदस्य सफिन्द्र प्रसाद यादवले बताएका छन् ।
चिनी मिलप्रति भुक्तानीको अविश्वासले गर्दा किसानले यसपालि उखु उपलब्ध नगराएको यादवको भनाइ छ ।
चिनी मिललाई संचालनमा ल्याउन किसानहरूले आन्दोलनसमेत गरेका थिए । पटकपटक उद्योग मन्त्रालयमा ज्ञापन दिने र उद्योगपतिलाई वार्तामा ल्याउने काम पनि उखु उत्पादक संघले गरेको थियो ।
अन्य वर्ष पुसमा संचालन हुने चिनी मिल अत्यधिक दबाबका कारण माघको अन्ततिर संचालनमा आएको थियो ।
उद्योगले किसानलाई अझै पनि करोडौं रुपैया भुक्तानी दिन बाँकी रहेको छ । चालु सिजनमा पनि उद्योगले किसानसित किनेको उखुको मूल्य भुक्तानी बाँकी रहेकाले अब किसानलाई पैसा दिलाउन आफूहरूले पहल थाल्ने संघका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।
गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भए पनि जिल्लाबाट बाहिरका चिनी मिलले भने अझै उखु लगिरहेका छन् । जिल्लामा अझै पनि करीब डेढ दर्जन खाँडसारी उद्योगले सख्खरको उत्पादन पनि गरिरहेका छन् ।
सञ्जय मित्र, रौतहट