प्रहरीका तीन डीआईजी एआईजी बढुवा सिफारिस
गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डीआईजी त्रय तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
हाल प्रहरीमा तीन एआईजी पद रिक्त छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साल हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन्। उनी २५ असार २०४७ मा सेवा प्रवेश गरेका थिए।
यस्तै प्रहरी प्रवक्ता रहेका क्षेत्री र प्रहरीको विशेष ब्यूरोमा कार्यरत पाल १९ वैशाख, २०४९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।
प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ।
एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए। प्रहरी सेवा प्रवेश र बढुवा वरियता अनुसार तीनैजनाको बढुवा सिफारिस भएको हो।