३० हजार घुससहित प्रधानाध्यापक पक्राउ
दैलेखको नौमुले गाउँपालिकाका एक प्रधानाध्यापकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।
नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलार्ई बिहीबार ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।
सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रअ सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी ब्यांकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।