बिद्यालयका प्रधानाध्यापक घूस रकम सहित बैंकबाट पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको नौमुलेस्थित भैरब माध्यामिक बिद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई घूस रकम सहित पक्राउ गरेको छ।
आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले सिंहलाई एनएमबी बैंकको नौमुले शाखाका शाखा प्रवन्धकको कोठाबाट नियन्त्रणमा लिएको हो। उनका साथबाट घूस बापत लिएको ३० हजार रुपैयाँ समेत बरामद भएको छ।
आयोगका अनुसार सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउन घूस रकम मागेका थिए।
आयोगमा उजुरी परेपछि सुर्खेतबाट टोली खटिएको थियो। सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भै रहेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए।