मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना
नेकपा (माले) का महासचिव तथा पूर्व उप-प्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । मैनालीकाे स्वास्थ्य अवस्था मध्यम रहेकाे स्थानीय प्रहरीले जनाएका छन्। उनकाे थप उपचारका लागि सेनाकाे हेलिकाेप्टरमा काठमाडाै ल्याउने तयारी भइरहेकाे छ।
महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । पिकअप भ्यानका चालक जित व परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले नेता मैनालीको स्वास्थ्य अवस्था मध्यम रहेको बताएका छन् । उनले मैनालीको दायाँ खुट्टा र टाउकोमा चोट लागेको बताए । "अवस्था मध्यम छ, उहाँ बोलिरहनु भएको छ," चापागाईले भने "अन्यको अवस्था सामान्य रहेको छ ।"
उनको थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए । त्यसका लागि नेपाली सेनाको हेलिकप्टर मगाएको उनले जानकारी दिएका छन् ।