नेपाल ट्रष्टकाे जग्गा लिजमा दिने निर्णयमा मेराे संलग्नता छैन: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णयमा आफ्नो संलग्नता नभएको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गरी देउवाले १३ फागुनमा नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी विवरणमा आफूलाई जोडिएको बारे स्पष्ट पार्दै आफ्नो वा आफू प्रधानमन्त्री हुँदाबखतको मन्त्रिपरिषदको कुनै संलग्नता नभएको बताए।
देउवाले भने, “ म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।”
नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरेका थिए।
देउवाले नेपाल ट्रष्ट ऐन जारी हुँदादेखि नै स्वशासित र संगठित संस्था भएकाले यसले गरेका निर्णयमा प्रधानमन्त्रीलाई गाँस्नु राजनीतिक र कानूनीरुपमा गलत भएको बताए ।
देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरण, गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणबाट ध्यान अन्तै मोड्ने उद्देश्यले यो विषय उठाइएको बताए ।