दिल्ली हिंसा : बीजेपी नेता कपिल मिश्रसहित तीन नेता विरुद्ध एफआईआर दर्ता गर्न उच्च अदालतको निर्देशन
दिल्लीमा जारी आन्दोलनलाई हिंसात्मक बनाउन उत्प्रेरकको भूमिका खेलेको भन्दै दिल्ली उच्च अदालते बीजेपीका तीन जना नेता विरुद्ध मुद्दा चलाउने बाटो खोलेको छ ।
दिल्ली उच्च अदालतले बीजेपीका नेताहरूले दिएको भड्काउपूर्ण अभिव्यक्तिका कारण शान्तिपूर्ण तवरले चलिरहेको आन्दोलन हिंसात्मक बनेको ठहर गरेको छ ।
"द्वेषपूर्ण अभिव्यक्ति दिएर आन्दोलनलाई हिंसात्मक बनाउन उक्साउने व्यक्तिमाथि प्रहरीले सचेततापूर्वक एफआईआर दर्ता गरेर अनुसन्धान थाल्नु" उच्च अदालतले भनेको छ । अदालतले भनेका तीन जना नेताहरूमा कपिल मिश्र, अनुराग ठाकुर र प्रवेश वर्मा रहेका छन् ।
भारतको राजधानी दिल्लीमा आइतबारदेखि जारी हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या २२ नाघेको छ । नागरिकता कानून संशाेधन विधेयक विरोधी र समर्थक समूहबीच भएको झडपमा प्रहरीसहित २ सय जनाभन्दा बढी घाइते भएका छन् ।
केही महीना अघिदेखि दिल्लीमा शुरु आन्दोलन आइतबारदेखि हिंसात्मक बन्दै गइरहेको छ ।
मंगलबार दिनभर पूर्वी दिल्लीका विभिन्न क्षेत्रमा हिंसाले चर्को रुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उक्त क्षेत्रको निरीक्षण गरेका थिए ।
दिल्लीका जफ्फरबाद, मौजपुर, गोकुलपुरी चोकलगायत क्षेत्रमा अवस्था तनावपूर्ण बनेको छ ।