नेकपा सचिवालयको निर्णय धरापमा : ओलीलाई भेट्न माधव नेपाल बालुवाटारमा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले बुधबार वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भनेर गरेको निर्णय धरापमा परेको छ ।
बैठकमा सर्वसम्मत भएको उक्त निर्णयमा प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपाललाई टेलिफोन गरेर आफू सिफारिस गर्न तयार नरहेको बताएपछि सचिवालयले गरेको निर्णय कार्यन्वयनमा आशंका पैदा भएको छ ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग आफूमाथि घेराबन्दी भएको र गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगरी अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने बताएको स्रोतले जानकारी दिएको छ ।
त्यसपछि नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयको निर्णयमा कुनै फेरबदल नभएको जनाएका छन् । "बुधबार दिउसो बसेको सचिवालय बैठकको निर्णय बाहेक अरू कुनै निर्णय भएको छैन" उनले हिमालखबरसँग भने ।