नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको याक एण्ड यती होटलमा कार्यक्रम गरेर ढकालले महासंघको आगामी २८ र २९ चैतमा हुने साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघले आगामी तीन वर्षका लागि शेखर गोल्छा नेतृत्वमा सरकारसँग मिलेर काम गर्नका लागि बलियो टिम बनाउने बताएका थिए ।
महासंघको विधान अनुसार, वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी साधारणसभापछि तीन वर्ष महासंघको नेतृत्व गर्नेछन् । आगामी साधारणसभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष त्यसभन्दा पछिको साधारणसभाबाट स्वतः महासंघको अध्यक्ष चयन हुनेछन् ।
त्यसैले, महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुन्छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा यसअघि नै किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
ढकालको कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु चण्डीराज ढकाल तथा सुरज वैद्यको उपस्थिति थियो । ढकालले आगामी अध्यक्ष गोल्छालाई पनि कार्यक्रममा आमन्त्रण गरेपनि उनी गएनन् । ढकाल ब्यांक, बीमा, व्यापार लगायतका व्यवसाय सञ्चालन गरिरहेको आईएमई समूहका अध्यक्ष हुन् ।