संविधान संशोधनको ‘च्याप्टर क्लोज’
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णय गरेको छ ।
२०७४ को प्रतिनिधिसभामा बर्दिया–१ पराजित गौतम सचिवालयको निर्णयसँगै राष्ट्रिय सभामा प्रवेश गर्ने भएका छन् । यसअगाडि माथिल्लो सदनबाट पनि प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भए मात्रै राष्ट्रियसभाको सांसद बन्ने गौतमले अडान लिदै आएका थिए । तर, बुधबारको सचिवालय बैठक सँगै गौतम माथिल्लो सदनमा जाने भएका हुन् ।
सचिवालय बैठकको निर्णय सुनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय भएको बताए । गएको ९ माघमा सम्पन्न राष्ट्रियसभामा निर्वाचनमा गौतम उम्मेद्वार बनेका थिएनन् ।
तर, उनलाई सांसद बनाउन संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदलकै प्रस्ताव नेकपा सचिवालयमा राखिएको थियो ।
संविधान संशोधनको प्रस्ताव सार्वजनिक भएपछि नेकपाभित्रै तीव्र आलोचना भयो । यसपछि बसेको सचिवालय बैठकले संविधान संशोधनका लागि गृहकार्य गर्ने प्रस्ताव रोकिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार, कार्यदलको प्रस्ताव समेत भंग भइसकेको छ।