अर्थमन्त्री खतिवडा बाहिरिदै, वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भएको छ ।
बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो । २० फागुनमा राष्ट्रियसभा सदस्य मनोनीत हुँदैछ । गएको ९ माघमा सम्पन्न निर्वाचनबाट १९ मध्ये १८ जना निर्वाचित भइसकेका छन् ।
बाँकी एक जना मनोनीत कोटामा गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको हो । नेकपाको निर्णयसँगै अब मन्त्रिपरिषदले गौतमको नाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिनेछ ।
गौतम राष्ट्रियसभा सदस्य बन्ने भएपछि अर्थमन्त्री युवराज खतिवडा भने बाहिरिने निश्चित भएको छ । अर्थमन्त्री खतिवडालाई केही दिन अगाडि मात्रै सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको थियो ।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापा, राष्ट्रियसभामा एक जना मनोनीत हुने कोटा मात्रै रहेकाले अर्थमन्त्री खतिवडा अब बाहिरिने बताउँछन् । “एक जनाको मात्रै कोटा छ, अब अर्को विकल्प के होला र ?”, थापाले भने ।