समाचार मंगलबार, फागुन १३, २०७६

नेपाल ट्रष्टको १२ जिल्लामा २१ हजार रोपनी जग्गा, गुमेको १७३ रोपनी फिर्ता ल्याउने

हिमालखबर

नेपाल ट्रष्टको १२ जिल्लामा २१ हजार रोपनी जग्गा, गुमेको १७३ रोपनी फिर्ता ल्याउने

नेपाल ट्रष्टको देशभरका विभिन्न १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको आज आयाेजित कार्यक्रममा बताइएकाे छ।

मंगलबार ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गर्दै रक्षामन्त्री तथा ट्रष्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले भने, “गुमेको १७३ रोपनी जग्गा समेत फिर्ता ल्याउने प्रयासमा छौं ।”

ट्रष्टको विभिन्न जिल्लामा मोहीका नाममा गुमेको जग्गााको विषयमा खोजी होस् भनेर ट्रष्टले औपचारिक रूपमा आग्रह गरिसकेको छ । यसका लागि ट्रष्टको सम्पत्ति र यसको विवरण पारदर्शी रूपमा राखिएको जानकारी पनि पोखरेलले दिए ।

ट्रष्टको काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल र बालाजुमा गरी १७३ रोपनी जग्गा मोहीका नाममा नामसारी भएको छ । मन्त्रिपरिषद्को २६ भदौ २०६४ को निर्णयबाट मोहीका नाममा नामसारी भएको पाइएको हो ।

ट्रष्टको गत पुस मसान्तसम्ममा रु ७८ करोड नौ लाख ७७ हजार ७९३ चल सम्पत्ति पुगेको छ । ट्रष्टको नाममा अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र पाउन्ड स्टर्लिङ ५० हजार १२४ रहेको छ।

नबिल ब्यांकको पाँच लाख ३३ हजार २४४ कित्ता, होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता शेयर ट्रष्टको नाममा रहेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

ट्रष्टले हालसम्म विभिन्न ६ वटा ठाउँको सम्पत्तिलाई भाडामा दिएको छ । यस्तो भाडामा दिएको सम्पत्तिमा गोकर्ण फोरेष्ट रिसोर्टले लिएको २७ सय ९२ रोपनी, कन्सेप्ट डेभलपर्स प्रालिले लिएको कमलादीस्थित ५ रोपनी, स्याण्डर्ड चार्टर ब्यांकले ६ रोपनी १२ आना, टाउन डेभलपर्सले १९ रोपनी १२ आना, थामसेर्कु ट्रेकिङले दरबारमार्गमा १ रोपनी १४ आना र थामसेर्कु ट्रेकिङले नै ताहाचलमा ४ रोपनी चार आना जग्गा भाडामा लिएको छ ।

यसका साथै छोटो अवधिका लागि सार्वजनिक खरीद तथा अनुगमन कार्यालय, गरीबी निवारण कोष, वैदेशिक रोजगार विभाग र निजामती आवासीय विद्यालयलाई ट्रष्टको सम्पत्ति भाडामा लगाइएको छ ।

ट्रष्टले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनमा पनि लगानी गर्ने गरी कार्यविधि बनाइरहेको मन्त्री पोखरेलले बताए । उनका अनुसार पर्यटनमा होमस्टेतर्फ शिक्षामा पुस्तकालय तथा आईटी ल्याब एवं छात्रवृत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।

ट्रष्टको देशैभरि रहेका जग्गामध्ये ७० प्रतिशत धादिङमा मात्रै छ । ट्रष्टको धादिङमा १५ हजार १०१ रोपनी जग्गा छ भने बाँकी जग्गा चितवन, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, काभे, मकवानपुर, धनकुटा, नुवाकोट, ललिपुर, भक्तपुर र काठमाडौंमा रहेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस