दिल्लीमा भएको हिंसात्मक आन्दोलनमा पत्रकारमाथि हातपात : हिन्दू समर्थक भनेपछि जोगिए
भारतको राजधानी दिल्लीमा भड्किएको नागरिकता कानून संशाेधन विधेयक विरोधी आन्दोलनमा पत्रकारमाथि समेत हातपात भएको छ । टेलिभिजन च्यानल एनडीटीभीका तीन जना रिपोर्टर र एक जना क्यामेरा म्यानमाथि हिन्दू समर्थक भिडले कुटपिट गरेको जनाइएको छ ।
उनीहरूमाथि आक्रमण हुँदा सुरक्षाकर्मीले कुनै प्रतिक्रिया नजनाएको र भिडले नै उनीहरू पनि हिन्दू नै हुन् भनेपछि आक्रमण गर्न रोकेको एनडीटीभीकी कार्यकारी सम्पादक निधि राजनले ट्विट गरेकी छिन् ।
रिपोर्टरहरू अरविन्द गुणासेकर र सौरभ शुक्लामाथि हातपात भएको उनले उल्लेख गरेकी छिन् । सौरभको पिठ्युँमा गम्भीर चोट लागेको छ भने अरविन्दको दुईवटा दाँत झरेका छन् । यद्यपि, दुवै जना अहिले भने सुरक्षित रहेको टीभीले प्रकाशित गरेको समाचारमा जनाइएको छ ।
साथै मारियम अलवीमाथि पनि हातपात भएको छ भने क्यामेरा म्यान सुशील राठी पनि घाइते भएका छन्।
भारतमा जारी नागरिकता संशाेधन कानून विधेयकको विरोधमा यस अघि पनि पत्रकारमाथि हातपात भएका खबरहरू सार्वजनिक भएका थिए ।
साहिन बागमा मुस्लीम र महिलाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको स्थानमा भडकाव समाचार सम्प्रेषण गरेर परिस्थिति खलबल्याएको भन्दै आन्दोलनकारीले 'जी न्यूज' र 'न्यूज नेसन टीभी'का पत्रकारलाई त्यहाँबाट निकालेका थिए ।
त्यसपछि 'जी न्यूज'का पत्रकार सुधिर चौधरी र 'न्यूज नेसन टीभी' का पत्रकार दीपक चौरसियाले संयुक्त रुपमा साहिन बाग गएर एउटै कार्यक्रम प्रसारण गरेका थिए ।
आइतबारदेखि हिंसात्मक बनेको उक्त आन्दोलमा ९ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने अहिलेसम्म सयौंको संख्यामा घाइते भएको जनाइएको छ । यतिबेलै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि भारतको भ्रमणमा छन् ।
यो पनि: